• ५ साउन २०८१, शनिबार

अनुदानमा कृषि औजार वितरण

blog

रमेश विश्वकर्मा
गुल्मी, साउन ५ गते ।
 गुल्मीमा ५० प्रतिशत अनुदानमा कृषकहरूलाई कृषि मेसिनरी औजार वितरण गरिएको छ । जिल्लाको मदाने गाउँपालिकाले विभिन्न कृषक समूह, सहकारी र निजी फार्मका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी औजार वितरण गरेको हो ।

यस गाउँपालिकाले उन्नत जातको देउती मकैको बीउ, कुटानी पिसानी मिल, मिनिटिलर,सिड बिन भकारी, कर्न सेलर मेसिन र त्रिपाललगायतका कृषि मेसिनरी औजार वितरण गरिएको छ । कृषकहरूको मागको माग र आवश्यकताको आधारमा यस गाउँपालिकाको वडा नम्बर – ६ र ७ मा मेसिनरी औजार वितरण गरिएको मदाने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत मकैबाली पकेट कार्यक्रम कार्यान्वयनका लागि मदाने गाउँपालिका वडा नम्बर–६ स्थित गोलीपोखरी कृषि तथा बाख्रापालन कृषक समूहमार्फत कृषि मेसिनरी औजार वितरण गरिएको हो । ३०० केजी उन्नत जातको देउती मकै बीउ, आठ वटा कुटानी पिसानी मिल, छ वटा पिसानी मिल, चार वटा मिनिटिलर, दश वटा सिड बिन भकारी, एक वटा कर्न सेलर मेसिन र ४५ वटा त्रिपाल कृषकहरूलाई वितरण गरिएको मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनुभयो ।

कृषि मेसिनरी औजार वितरण गर्नुहुँदै मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले मकै खेतीमा गाउँपालिकालाई आत्मनिर्भर गराउने प्रमुख उद्देश्य रहेको बताउनुभयो । कृषकहरूलाई व्यावसायिक बनाई कृषि उत्पादन बढाउन नयाँ कृषि मेसिनरी औजार वितरण गरिएको भन्दै उहाँले वितरण गरिएका कृषि सामग्रीहरूको माध्यमबाट कृषकलाई निकै सहज हुने र उत्पादनमा समेत वृद्धि आउने अपेक्षा लिएको बताउनुभयो ।