• १० मंसिर २०८१, सोमबार

ज्ञानदाता गुरु

blog

गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वरः

गुरु साक्षात परब्रह्मा तस्मै श्री गुरुवे नम : ।।

गुरु ब्रह्मा हुन्, गुरु विष्णु हुन्, गुरु नै भगवान् शङ्कर हुन् । गुरु साक्षात् परब्रह्मा हुन् त्यसैले यस्ता गुरुलाई प्रणाम गर्दछु । गुरु अर्थात् शिक्षकको महिमा अपरम्पार भएकाले यसको महिमा बयान गर्ने कुनै शब्द नै छैन । गुरुलाई भगवान्भन्दा उच्च स्थानमा राखिएको छ । सामान्य अर्थमा शिक्षादीक्षा दिने व्यक्ति, श्रेष्ठ तथा ज्ञानी पुरुषलाई गुरु भनिन्छ । गुरु शब्द उच्चारणमा उच्च आदर, सम्मान र श्रद्धाभाव अभिव्यक्त भएको हुन्छ । गुरु शब्दले कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति, शिक्षक, अध्यापकलाई बुझाउँछ । 

सङ्गीत, कला आदि सिकाउने, उस्ताद व्यक्ति साथै गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति, आचार्य भनेर नेपाली बृहत् शब्दकोशले अर्थापन गरेको छ । गुरु शब्दले बल, बुद्धि, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति मान्यजनलाई बुझाउँछ । यसलाई हिजोआज चलनचल्तीका भाषामा शिक्षक बढी प्रयोग गर्ने गरिएको छ । यसको महìव यति गहन र उच्च छ कि कुनै शब्दले त्यसको उच्चतालाई नाप्न, तौलन असम्भव हुन्छ । ‘गु’ शब्दको अर्थ अन्धकार हो । ‘रु’ को अर्थ अन्धकारको निरोधक हो । यसर्थ अन्धकारलाई रोक्ने व्यक्तिलाई गुरु भनिन्छ । त्यसैले गुरु नै परब्रह्मा, परागति, परम् विद्या र गुरु नै परम् धन भनिन्छ । गुरु नै परम आश्रय स्थल तथा परम ज्ञानको उपदेशक भएकाले गुरु महान् हुन्छन् । गुरु शब्दको महिमालाई प्राचीनकालदेखि नै अत्यधिक महìव दिने गरेको पाइन्छ । यसको आदर सत्कारसँगै शब्दले व्यक्त गर्ने अर्थ उच्च कोटिको देखिन्छ । जब हामी र हाम्रो समाज आधुनिकता तथा उत्तर आधुनिकतातर्फ ढल्कँदै गएपछि अझ पश्चिमा संस्कृतिको प्रभाव पर्दै गएपछि यसको सही प्रयोग र महìव हराउँदै गएको देखिन्छ । वैदिक चिन्तनमा गुरुको सर्वोच्चतालाई  स्वीकार गरिएको छ । जो वेद सम्पन्न छ, मन्त्रको ज्ञाता छ, मन्त्रभक्त, मन्त्रको आश्रय लिन्छ, पुराणको ज्ञाता छ, विज्ञ छ, पवित्र र ईष्र्यारहित, विष्णुभक्त तथा गुरुभक्त छ यी सम्पूर्ण लक्षणले युक्त व्यक्तिलाई गुरु भनिन्छ ।

गुरुको स्थानमा हिजोआज शिक्षक शब्दले समानता पाउँदै गएको छ । शिक्षक शब्दले शिक्षा दिने वा विद्यालयमा पढाउने व्यक्ति, अध्यापक, गुुरु, मास्टर जनाउने भनी नेपाली बृहत् शब्दकोशले अर्थापन गरेको छ । गुरु र शिक्षक शब्दमा आन्तरिक र बाह्य दुवै तहमा अन्तर कमै भएकाले कहीँकतै शिक्षक र गुरुलाई पर्यायवाची शब्द मानिएको छैन तर व्यावहारिक रूपमा समानार्थक रूपमा अधिक प्रयोग गरिएको पाइन्छ । यद्यपि गुरु तथा आचार्य र शिक्षकमा भएका केही भिन्नता पनि छन् । गुरु र शिक्षकको सिर्जनाको कुरा गर्दा गुरु जन्मन्छ भने शिक्षक बनाइन्छ । गुरुलाई पेसागत रूपमा स्वयम्सेवी तर शिक्षकलाई वेतनभोगीका रूपमा लिने गरिएको छ । गुरु सदा आफ्ना शिष्य वा सिकारुप्रति जवाफदेही हुन्छन् भने एउटा शिक्षक आफ्नो रोजगारप्रति मात्र जवाफदेही हुन्छन् । त्यसै गरी गुरुले आफ्ना चेला वा शिष्यलाई जीवनभर मार्गनिर्देश गर्छन् भने शिक्षक निश्चित अवधिभर मात्र सिकारुका साथमा हुन्छन् । गुरुले गर्ने सेवाको समय असीमित हुन्छ भने शिक्षकले दिने सेवाको समय निर्धारण गरिएको हुन्छ । ज्ञानका दृष्टिले गुरु विविध विषयको ज्ञाता हुन्छन् भने शिक्षक सम्बन्धित विषयको मात्र ज्ञाता हुन्छन् । एउटा व्यक्ति मानव भएर धर्तीमा अवतरण भएपछि पहिलो गुरु भनेको बाबुआमा हो जसले आफ्ना सन्तान गलत बाटोमा नलागून्, दुःख नपाऊन् भनी प्रार्थना गरिरहन्छन् । त्यसपछि एउटा असल गुरु जो आफ्ना शिष्यलाई औपचारिक शिक्षा ग्रहणको समयपश्चात् पनि जीवनका प्रत्येक मोडमा सही मार्गदर्शन र परामर्शदाताको भू्मिकामा रहन्छन् ।

यसै गरी आध्यात्मिक दृष्टिले हेर्दा वैदिक चिन्तन ग्रन्थ उपनिषद्मा गुरुलाई आचार्य देवो भवः अर्थात् देवताको रूपमा चित्रण गरेको पाइन्छ । विभिन्न उपनिषद्मा गुरुलाई समान भक्तियोग्य, साक्षात् हरि हुन् भनिएको छ । शिक्षा लिने दिने बेलामा मात्र नभएर जीवनभर गुरु भक्तियोग्य हुनुपर्दछ । अझ जो व्यक्ति गुरुको सच्चा भक्त छ उसलाई मात्र ज्ञानको प्रवाह गर्नुपर्ने उपनिषद्ले बताएका छन् । एक उत्प्रेरकका रूपमा गुरुको भूमिकामा रही सत्य र धर्मलाई आत्मसात् गर्दै प्रगतिका मार्गमा लाग्न उत्प्रेरित एवं आधिकारिक व्यक्तित्वका रूपमा रहनु पर्दछ । यसै गरी उपनिषद्हरूमा गुरुको योग्यता अन्तर्गत शास्त्र ज्ञाता, आस्तिक, विषयगत ज्ञान, आध्यात्मिक, चरित्रवान्, धार्मिक र नैतिक गुणले युक्त हुनु पर्छ । यसर्थ आदर्श गुरु नमुनाका रूपमा देवता समान पूजनीय, सेवायोग्य, भक्तियोग्य, कल्याणदायक र अनुकरणीय प्रेरणादायक हुनु पर्छ । पूर्वीय दर्शनले लौकिक र पारलौकिक दुवै ज्ञानले भरिपूर्ण व्यक्तिलाई गुरु भनी  महिमा प्रस्ट्याएको छ । वर्तमान समयमा हाम्रो शिक्षा प्रणालीले गुरुको त्यो आवश्यकता पूरा गर्न नसके पनि केही हदसम्म हामीले गुरुका आदतलाई शिक्षकमा अनुसरण गर्न सकेमा त्यो पक्कै प्रभावकारी हुन्छ । त्यसैले भनिन्छ, गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शिक्षक हुनु पर्दछ । 

गुरु र शिक्षकको चर्चा गर्दा हामीले गुरु र शिक्षक कस कसलाई सम्बोधन गर्छौं यसमा स्पष्ट हुनुपर्ने वर्तमान समस्या रहेको छ । एउटा असल गुरुले जहिले पनि विद्यार्थीको कुरा बुझेर त्यही अनुसार व्यवहार गर्छन् भने अझ सफल गुरु वास्तवमा सिकारुका मनमुटुमा बास बस्न सक्ने महान् हुन्छन् । कहिलेकाहीँ विद्यालय तथा विश्वविद्यालयतिर कुरा गरेको सुनिन्छ, जोसुकै एकछिन कुराकानी गर्दैमा गुरु बनाउने हो र ? यस प्रकारका सन्दर्भ आउँदा अचम्म लाग्छ । असीमित ज्ञानको खानी  गुरु र शिक्षक दुवैमा हुन आवश्यक छ । गुरु र शिक्षकले गरेका प्रत्येक व्रिmयाकलापले सिकारुका मनमा प्रत्यक्ष तथा परोक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । कहिलेकाहीँ सिकारु मात्र नभएर समाजका व्यक्ति अलमलमा पर्न सक्छन् । शिष्यले गुरु र शिक्षकले गरे जस्तो गर्ने कि उहाँहरूले भने जसरी ज्ञानको अनुसरण गर्ने ।  

करिब २० वर्षअघिसम्मको कुरा गरौँ । तत्कालीन समयको शिक्षा र शिष्यको सम्बन्धले पनि यसको गहनता र संस्कार जोगाइरहेको जस्तो लाग्छ । गुरु शब्दमा त्यति नै सम्मान तत्कालीन बालबालिका हालका वयस्कमा पाउन सकिन्छ । वर्तमान समयमा शिक्षामा लगानी अत्यधिक भइरहेको  छ । अभिभावकले बालबालिकाको भविष्य उज्ज्वल बनाउनका लागि रातदिन कडा परिश्रम गर्नु परेको छ । यद्यपि शिक्षकको विद्यार्थीप्रतिको व्यवहार र उत्तर आधुनिकताले भिœयाएका विज्ञान प्रविधिसँगै सिकारुले आफूले गर्ने आदर, सत्कार, धर्म, संस्कृति र परम्परा भुल्न थालेको अनुभूति भइरहेको छ । परिणामतः बाटोमा कतै भेटिए पनि १० औँ वर्ष पढेका कतिपय विद्यार्थीले शिक्षकको छाया पनि हेर्न चाहँदैनन्, यसको जिम्मेवार को ? 

गुरु र शिक्षकका सम्बन्धका सन्दर्भमा जोडिएका यस्ता प्रसङ्गको आशय अबका बालबालिकाले गुरु र शिक्षकको महत्त्व बुझ्न सकून् । जसरी हालका वयस्कमा गुरुप्रतिको श्रद्धाभाव, आदर सत्कार, सम्मान छ त्यसरी नै जो शिक्षित वर्ग, बौद्धिक व्यक्तित्वले पनि गुरुको महिमा बुझ्न र आआफ्ना स्थानबाट कुमालेको काँचो माटो जस्ता नानीबाबुको मनमस्तिष्कमा सकारात्मक प्रभाव पार्न सकियोस् । गुरुपूर्णिमा वर्षमा एक दिन आउँछ तर यसले संस्कार र गुरुप्रतिको सम्मान व्यक्त गर्ने बहानामा विकृति मौलाइरहेको अनुभूति हुन्छ । शिष्यले हरेक समयमा गुरु वा शिक्षकको स्मरण गरी त्यसबाट सकारात्मक ऊर्जा ग्रहण गर्न सक्नु पर्दछ । अतः आशा गरौँ अबका दिनमा गुरु र शिक्षकको महत्त्व बुझ्ने र शिक्षकप्रतिको श्रद्धा बढेर जाने ज्ञान प्रवाह होस् । विद्यार्थीले जीवनका प्रत्येक जटिलतामा गुरु तथा शिक्षकको परामर्शको स्मरण गर्न सक्नु पर्छ, सही मार्गनिर्देशकको अभाव पूर्ति हुन सकोस् । गुरुपूर्णिमाको सम्पूर्ण ज्ञात अज्ञात गुरु तथा शिक्षकहरूप्रति हार्दिक मङ्गलमय शुभकामना ।