• ४ साउन २०८१, शुक्रबार

सामुदायिक विद्यालयमा विज्ञसहितको अनुगमन समिति

blog

गोकुल पराजुली

विराटनगर, साउन ४ गते । सामुदायिक विद्यालयहरुको अवस्था अनुगमन गर्न विराटनगर महानगरपालिकाले विज्ञसहितको अनुगमन समिति गठन गरेको छ । महानगरपालिकाको शिक्षा समिति मातहतमा रहने गरी अर्को समिति गठन गरिएको हो । 

महानगरले गठन गरेको अनुगमन समितिले पछिल्लो दुई दिनमा नगर क्षेत्रका ६ वटा सामुदायिक विद्यालयहरुको अनुगमन गरेको छ । अनुगमनबाट पठनपाठनको अवस्था, अध्यापनको गुणस्तर, विद्यालयको भौतिक पूर्वाधारको अवस्था र भर्ना भएका विद्यार्थीहरु परीक्षामा सहभागी भए नभएको बारेमा जानकारी प्राप्त हुने महानगरपालिका शिक्षा शाखाका प्रमुख कृष्ण भट्टराईले जानकारी दिनुभयो । अनुगमनबाट प्राप्त हुने सुझावका आधारमा आगामी दिनमा सामुदायिक विद्यालयहरुको सुधारका लागि योजना बनाइने उहाँले बताउनुभयो । 

विद्यालय तहको शिक्षा स्थानीय तहको जिम्मेवारी क्षेत्रभित्र पर्ने भएको र विद्यालयहरुको नियमित अनुगमन गर्न शिक्षा समितिको जिम्मेवारी हो । तर शिक्षा समितिबाट मात्र प्रभावकारी अनुगमन र सुधार हुन नसकेपछि छुट्टै समिति गठन गरेर विद्यालय अनुगमन गर्ने काम आरम्भ गरिएको महानगरको दावी छ। 

महानगरले विद्यालय अनुगमनलाई तीव्रता दिने भन्दै अनुगमन सुरु गरेको भउ पनि सामुदायिक विद्यालयहरु शुक्रबारबाट विदा भएका छन् । पहिलो त्रैमासिक परीक्षा शुक्रबार सम्पन्न गरी साउन २६ गतेसम्मका लागि विद्यालयको पठनपाठन विदा गरिएको छ । महानगरले गठन गरेको समितिले दुई दिनमात्र विद्यालय अनुगमन गर्न सकेको छ । दुई दिनमा ६ वटा विद्यालयको अनुगमन गरेको अनुगमन समितिका सदस्य सचिव भट्टराईले जानकारी दिनुभयो । बाँकी अनुगमनको काम अब विद्यालय खुलेपछि मात्रअघि बढ्ने छ। 

पछिल्लो दुई दिनमा समितिले विराट महेन्द्र रात्रि मावि, जनता नमुना मावि, सत्यनारायण आधारभूत विद्यालय, विराट आधारभूत विद्यालय, दिघी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालय खोक्साहाको अनुगमन गरेको छ । 

समितिले टोलीलाई समग्र सामुदायिक विद्यालयको भौतिक अवस्था तथा शैक्षिक गुणस्तरका बारेमा अध्ययन विश्लेषण गर्ने, विद्यालय सुधारका उपाय पहिल्याउने, सिकाई उपलब्धि बढाउनका लागि आवश्यकताका आधारमा विज्ञसमेत परिचालन गर्नुपर्ने भए सुझाव दिने तथा कमजोरी गर्ने शिक्षक कर्मचारीहरुलाई कारवाही सिफारिस गर्नेसम्मको अधिकार समितिलाई दिएको महानगर प्रमुखका प्रेस संयोजक मिनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

यस क्रममा टोलीले भर्ना भएका विद्यार्थी संख्या र परीक्षा दिने विद्यार्थी संख्याको विश्लेषण, पठनसीप क्षमताको परीक्षण पनि गर्ने बताइएको छ । यस्तै विद्यालय सञ्चालन व्यवस्थापनमा देखिएका समस्याका विषयमा विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीसित छलफलसमेत गर्ने कार्यसूचि रहेको अनुगमन समितिका सदस्यसचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । 

शिक्षा समितिका सदस्य रमानाथ भट्टराईको संयोजकत्वमा गठन भएको समितिमा त्रिलोक न्यौपाने, सावित्री पराजुली, सन्तोष पोखरेल र सदस्यसचिव कृष्ण भट्टराई रहनुभएको छ । संयोजक भट्टराई अवकाशप्राप्त शिक्षक हुनुहुन्छ ।