• ४ साउन २०८१, शुक्रबार

माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

blog

नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका होमबहादुर र रविलाई बाहिर निकालिँदै । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ),साउन ४ गते । मुस्ताङमा नाली खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । शुक्रबार दिउँसो घरपझोङ गाउँपालिका–५, ढुम्बास्थित कुछप तेरङ्गा गुम्बा परिसरमा नाली खन्ने क्रममा अचानक माथिबाट माटो खसेको हो । 

माटोको ढिस्कोले पुरिँदा सर्लाही लालबन्दी नगरपालिका-१५, का अन्दाजी २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका-१,का अन्दाजी २३ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।

दिउँसो करिब १ बजेको समयमा माटोको ढिस्को खसेर मजदुर पुरिएको खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ पाण्डेयको नेतृत्वमा प्रहरी टोलीसहित जोमसामस्थित नारायण दल गणबाट नेपाली सेना र सशस्त्र प्रहरी बल ३३ नम्बर गुल्मबाट सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो । 

डोजर प्रयोग गरी ढिस्को पन्छाएर दुई जनाको शव बाहिर निकालिएको छ । घटनास्थलको मुचुल्का तयार पारी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रनाउ पाण्डेयले बताउनुभयो ।