• ४ साउन २०८१, शुक्रबार

खेलकुद अन्तर्राष्ट्रिय स्तरमा पहिचानको उत्तम माध्यमः राष्ट्रपति पौडेल

blog

गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी ।

काठमाडौँ, साउन ४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन उपयुक्त माध्यम रहेको बताउनुभएको छ ।

फ्रान्सको पेरिस शहरमा हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइ कार्यक्रममा राष्ट्रपति पौडेलले उक्त धारणा राख्नुभएको हो । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा उहाँले उँचो मनोबल लिएर ओलम्पिकमा जान आग्रह गर्नुहुँदै विश्वमाझ नेपालको नाम राख्ने अवसरको रूपमा खेलाडीले प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडलले दृढ सङ्कल्प र अठोटका नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेमा आफू आशावादी रहेको बताउनुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकका लागि नेपाली टोलीका सेभ दी मिसन समेत रहनुभएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङलाई झण्डा हस्तान्तरण गर्दै बिदाइ गर्नुभयो ।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल र नेपालीको शीर उँचो राख्ने उद्देश्यसहित नेपाली टोलीको भावनाअनुरूप खेल्न शुभकामना दिनुभयो । देशमा राखेको रेकर्डसमेत ध्यानमा राखेर खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

आगामी जुलाई २२ देखि अगस्ट ११ सम्म पेरिस शहरमा ओलम्पिक हुँदैछ । सोही ओलम्पिकमा नेपालको तर्फबाट ६ खेलका सात खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।