• ४ साउन २०८१, शुक्रबार

न्यूरोडको फुटपाथ बढाउने काम रोकिँदैन : काठमाडौँ महानगर

blog

काठमाडौँ, साउन ४ गते । काठमाडौँ महानगरपालिका वडा नं. २२ स्थित न्यूरोडका स्थानीयले काठमाडौँ महानगरपालिकाले फुटपाथ बढाउन थालेको कामलाई अवरोध गरेका छन् ।

शुक्रबार काठमाडौँ महानगरपालिकाले वडा नं. २२ स्थित न्यूरोड परिसरमा फुटपाथ बढाउने काम गरेको थियो । केही दिन अघि उच्च अदालतले फुटपाथ बढाउने महानगरपालिकाको काम अगाडि बढाउन सकिने आदेश दिएसँगै महानगरले फुटपाथ बढाउने काम सुरु गरेको थियो ।

स्थानीयले फुटपाथ बढाउने कामको विरोध गर्दै अवरोध गरेका हुन् । उनीहरुले महानगरपालिका विरुद्ध नाराबाजी गर्दै काममा अवरोध गरेका थिए । काठमाडौँ महानगरपालिकाले भने कानुनको परिपालना गर्दै काम गरिएको भन्दै अवरोध गर्नेहरुले अदालतको आदेशको अवहेलना गरेको बताएको छ । अदालतलको आदेशको अवहेलना गर्नेलाई कानुनअनुसार कारबाही हुने चेतावनीसमेत दिइएको छ ।

‘‘पूर्वयोजना कार्यान्वयन गर्न नरोक्नु भनेको भएर आज त्यो कार्यान्वयन गर्न आएका हौँ । यो हतारो होइन । पूर्वयोजना हो । हामीले पहिले कार्यान्वयन गरिरहेका थियौँ । त्यस पछाडि अदालतले रोकिदिनुस् भन्यो । अहिले अदालतले गर्नुस्, नरोक्नुस् भनेपछि हामीले कानुनको पालना गर्दै सबैकुरा अगाडि बढाइरहेका छौँ । हिजो रोक भन्दा हामीले रोकेको हो । आज गर भन्दा हामीले गरेको हो । यो हाम्रो नियमित प्रक्रिया हो । त्यही अनुसार हामी अगाडि बढेको हो ।,’’ प्रमुखका स्वकीय सचिव साहले भन्नुभयो, ‘‘हामीले आदेशको पालना गर्ने हो । कानुनभन्दा माथि कोही छैन । हामीले कानुनको पालना गर्दैगर्दा जो मान्छेहरु यो हुनुहुँदैन भनेर आइरहनुभएको छ । उहाँहरुले अदालतको आदेशको अवहेलना गर्नुभएको छ । उहाँहरुले भोलि कुनैपनि कानुनभन्दा बाहिर गएर कार्य गर्नुभयो भने उहाँहरुले कानुनअनुसार दण्ड, जरिवाना सहनुपर्ने छ । हामी कानुनमा स्ट्रिक छौँ ।’’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै काठमाडौँ महानगरपालिका प्रमुखका स्वकीय सचिव भूपदेव साहले महानगरले पूर्वयोजना अनुसारको काम अगाडि बढाएको बताउनुभयो । उहाँले अदालतको आदेशअनुसार आफूहरुले काम गरेको भन्दै कानुन अनुसार अगाडि बढ्ने बताउनुभयो । उहाँले काम नरोकिने र अदालतको आदेश कडाइपूर्वक कार्यान्वयन गर्ने जनाउँदै शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवारी नेपाल सरकारको भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘कानुनभन्दा बाहिर देख्दै देख्दैनौँ । परिपालना गर्ने कुरामा सधैँ यसरी नै अगाडि बढ्छौँ । शान्ति, सुव्यवस्था, सुशासन कायम गर्ने जिम्मा नेपाल सरकारको हो । आज प्रश्न के उठेको छ भने दुई तिहाइको सरकारको आज हैसियत परीक्षण हो । जनताको सर्वोपरि हित हुने, सुव्यवस्थासँग, शान्ति सुरक्षासँग जोडिएको विषय दुई तिहाइको सरकारले सुरक्षा गर्न सक्ने कि नसक्ने भन्ने कुरा गहन रुपमा उठेको छ । सरकारको टेस्ट हो । हामीले पब्लिकसँग छलफलमा जाने होइन । केही भयो भने शान्ति सुरक्षाको जिम्मा गृह प्रशासन र नेपाल सरकारको हो ।’’

उहाँले महानगरपालिकाले न्यूरोडमा फुटपाथ बढाउने काम नरोक्ने स्पष्ट पार्नुभयो ।



यो पनि पढ्नुहोस

नयाँसडककाे फुटपाथ विस्तार सुरु, स्थानीयवासी विरोधमा

न्यूरोडमा फुटपाथ विस्तारको काम बुधबारदेखि पुनः सुरु