• ४ साउन २०८१, शुक्रबार

कांग्रेसले बागमतीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

blog

राममणि दाहाल

हेटौँडा, साउ ४ गते। नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लिने विश्वासको मतको विपक्षमा मतदान गर्नेभएको छ ।

कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सभामा लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

कार्यसम्पादन समितिको शुक्रबार प्रदेश सम्पर्क कार्यालय ललितपुरमा बसेको बैठकले यही साउन ६ गते मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिने कार्यक्रम रहेकोले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको कांग्रेस बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिनुभयो।

बैठकले मुख्यमन्त्री जम्कट्टेलले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दललाई निर्देशन दिनेसमेत निर्णय गरेको छ।

काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको बैठकमा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामालगायतका उपस्थिति रहेको थियो।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।

साउन ६ गते आइतबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ।

सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले बागमती प्रदेश संसदीय दलले असार २४ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्नुभएको थियो।