• ४ साउन २०८१, शुक्रबार

दलदले-धौवादी सडक दुई सातापछि सञ्चालन

blog

पहिरो हटाएपछि सुचारु सडक ।

मीना कंडेल

कावासोती, साउन ४ गते । पहिरोका कारण अवरुद्ध नवलपुरको पहाडी क्षेत्रको मुख्य सडक सञ्चालनमा आएका छन् । पहिरो हटाइएपछि विगत दुई सातादेखि अवरुद्ध सडक पूर्ण रुपमा सञ्चालनमा आएको हो । 

पहाडी क्षेत्रलाई जोड्ने मुख्य राजमार्गका रूपमा रहेको दलदले–धौवादी सडक खण्डको पाङग्रेमा असार २० गते ठुलो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ओसारपोसार गर्न साथै यस क्षेत्रमा चल्ने सार्वजनिक सवारीसाधन नियमित रुपमा आवतजावत गर्न कठिन भएको थियो । वर्षा हुने बितिकै पहिरो खस्दा प्रत्येक दिन यहाँका स्थानीयले सास्ती खेप्नु पर्ने बाध्यता छ । भित्तो काट्ने र ग्राभेल बिछ्याउने काम समेत चलिरहेकाले सानो पानी परेपछि सडक अवरुद्ध हुने गरेको छ । 

वर्षाका कारण सडक बिग्रिँदा नवलपुरका ग्रामीण सडकमा महिनौँसम्म सडक अवरुद्ध हुनुका साथै वर्षौं ठूला दुर्घटना हुने गरेका छन् । स्थानीय गेस बहादुर गाहाले पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण रहेकाले जोखिम मोलेर यात्रा गर्न बाध्य रहेको बताउनुभयो । वर्षातको समयमा यस सडक भएर यात्रा गर्न असहज हुने गरेको गाहा बताउनुहुन्छ । करिब ४५ किलोमिटरको सडक दुई दशकसम्म स्तरोन्नति हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएकोे उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, "राजमार्ग क्षेत्र गैँडाकोट नगरपालिकादेखि दुम्किबाससम्मका बजार क्षेत्रबाट जिल्लाका पहाडी क्षेत्रमा जिप छुट्छन् । झण्डै डेढ दुई घण्टाको फरकमा गाडी छुट्ने कारणले गर्दा यात्रुको चाप बढी हुने र जीर्ण सडकका कारण यात्रुले कष्टपूर्णरुपमा ज्यानै जोखिममा राखेर यात्रा गर्नु परेको छ ।"

सडक अवरुद्ध भएर सवारी चल्न नसक्दा यस क्षेत्रका देवचुली नगरपालिका देखि कुमसोत, पोखरी, राइकोट, बबक, रुचाङ्ग, नरम, डेडगाउँ, अर्खला, बुलिङ्गटार, धौबादी, डेढगाउँ, डाडाझेरी, रकुवा, रुचाङ्ग, भारतीपुर, मिथुकरम लगायतका हजारौं नागरिक प्रभावित हुने गरेका छन् ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल, सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल, जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेल, सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर सहितको टोलीले स्थलगत अनुगमन गरेर निर्माण कम्पनीलाई पहिरो हटाउन निर्देशन दिएको थियो। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बिहिबार दिउँसो बाट सडक सुचारू भएको बताउनुभयो । १० मिटर जति बाटोको बेस पहिरोले बगाएका कारण वर्षा भए फेरि पनि पहिरोको कारणले सडक अवरुद्ध हुने जोखिम रहेको उहाँले बताउनुभयो ।