• ४ साउन २०८१, शुक्रबार

निर्माण व्यवसायीको भुक्तानी रोकिँदैन : अर्थमन्त्री पौडेल

blog

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।

काठमाडौँ, साउन ४ गते । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग अर्थमन्त्रालयमा भएको भेटघाटमा उहाँले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट पार्नुभएको हो । 

महासङ्घका पदाधिकारीसंगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गर्नुभएको थियो । “काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ”, अर्थमन्त्री पौडेलले भन्नुभयो, “समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ ।” सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको अर्थमन्त्री पौडेलले बताउनुभयो । 

पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो । “तपाईहरुका जायज समस्या सुन्न र समाधान गर्न सरकार तयार छ । तपाईहरु पनि तोकिएको समय र लागतभित्र काम सक्नुस । कामको गुणस्तर कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुहोला”, अर्थमन्त्री पौडेलले भन्नुभयो । निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेतबाट गरेर करिब ६० अर्ब बराबर भुक्तानी पाउन बाँकी रहेको दावी गर्दै आएका छन् । रासस