• ४ साउन २०८१, शुक्रबार

राष्ट्रियसभामा थारु आयोगको वार्षिक प्रतिवेदन पेस

blog

फाइल तस्बिर

काठमाडौँ, साउन ४ गते । राष्ट्रियसभामा ‘थारु आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८०’ पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले उक्त प्रतिवेदन पेस गर्नुभयो । बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउनुभएको थियो ।

त्यसअघि अध्यक्ष दाहालले असार २० गतेको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शारदादेवी भट्टले प्रयोग गर्नुभएका शब्द ‘रेकर्ड’बाट हटाउन निर्देशन दिनुभयो । सचिवालयबाट अध्ययन गर्दा सांसद भट्टले प्रयोग गर्नुभएका ती शब्द राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१ को खण्ड (घ) १ को व्यवस्था विपरीत भएको देखिएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

अपाङ्गता भएका व्यक्तिलाई होच्याउने गरी प्रयोग भएका ती शब्दप्रति नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ७ गते सोमबार अपराह्न १ः१५ मा बस्नेछ । रासस