• ४ साउन २०८१, शुक्रबार

अर्थतन्त्र सुदृढ बनाउनु सरकारको ध्येय हो : प्रधानमन्त्री ओली

blog

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै नेपाल उद्योग परिसंघका पदाधिकारी ।

काठमाडौँ, साउन ४ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निरासा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय रहेको प्रष्ट पार्नुभएको छ। नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो।

उहाँले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नकै लागि आफ्नो नेतृत्वमा नयाँ सरकार बनेको प्रष्ट पार्नुभयो। नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले पदका लागि मात्रै आफू प्रधानमन्त्रीकने जिम्मेवारीमा नआएको उल्लेख गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो। पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन। केही न केही नयाँ काम गरौं, मुलुकको समस्या समाधानमा योगदान गरौं भनेर जिम्मेवारी लिएको हो।’’

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष ध्यान रहेको जानकारी दिनुभयो। ‘‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो। म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ। त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ,’’ परिसंघका पदाधिकारीको सुझावपछि प्रधानमन्त्री ओलीले भन्नुभयो।

उहाँले नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति कठोर नहुने संकेत पनि गर्नुभयो। करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका बेला निजी क्षेत्रले विरोध गर्न सक्नुपर्ने भन्दै अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीति कठोर हुन नहुनेमा जोड दिनुभयो। प्रधानमन्त्रीसँगको भेटमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि सिथिल अर्थतन्त्रलाई उकास्न उच्च प्राथमिकताका साथ काम गर्न प्रधानमन्त्रीसँग अनुरोध गर्नुभयो।

अग्रवालले उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भए पनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको तथ्यसहित निजी क्षेत्रको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो। 

प्रधानमन्त्री ओलीसँगको भेटमा परिसङ्घका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, पूर्वध्यक्षद्वय सतिशकुमार मोर, हरिभक्त शर्मा, उपाध्यक्ष निर्वाण चौधरी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, अमित मोर, भीम घिमिरे, गभर्निङ काउन्सिल सदस्य शिवरतन शारडा, योगेश्वरलाल श्रेष्ठ, बालकृष्ण श्रेष्ठलगायतले अर्थतन्त्र सुधारका विषयमा प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो। 

उहाँहरुले अहिलेको चुनौतीको सामना गर्न सरकारले निजी क्षेत्रको मनोवल उकास्ने गरी अघि बढनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।