• ४ साउन २०८१, शुक्रबार

देवघाटमा बन्दै गरेको शवदाह गृह बाढीको जोखिममा

blog

तस्बिर : रासस

चितवन, साउन ४ गते । विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भुइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर लड्ने अवस्थामा पुगेको छ । 

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरमार्फत शवदाह गृह निर्माण भइरहेको छ । कार्यालय प्रमुख झपटबहादुर थापाले निर्माणस्थल छनोटमा ध्यान नपुगेको र काम अत्यन्तै ढिलो हुँदा समस्या भइरहेको बताउनुभयउो । सुरक्षाको काम गर्न नपाएको बताउनुभयो । उहाँले बाढीबाट जोगाउन थप सुरक्षा संरचनाको काम गर्न आवश्यक देखिएकाले नारायणी नदी व्यवस्थापन आयोजनालाई पत्राचार गरी तटबन्ध गरिदिन आग्रह गरिएको जानकारी दिनुभयो । 

बाढीले गृहको भुइँतलामा एक दशमलव पाँच फिटसम्म पानी भरिएको र सोही तलामा शव जलाउने उपकरण राखिने भएकाले पानी पस्न रोक्नुपर्ने थापाको भनाइ छ । वि.सं.२०७५ माघदेखि निर्माण सुरु भएको शवदाह गृह अझै सम्पन्न हुन सकेको छैन । वि.सं.२०७७ साउनमा सम्पन्न गर्ने गरी मिलिनियम सिद्धगढी जेभी काठमाडौँसँग सम्झौता गरिएकामा हालसम्म ४५ प्रतिशत मात्रै काम भएको छ । शवदाह गृह ११ करोड २१ लाख आठ हजारमा ठेक्का लगाइएको थियो । 

चार पटक मिति थप गरेर ताकेता गर्दासमेत काम द्रुतगतिमा अगाडि नबढ्दा समस्या भएको कार्यालय प्रमुख थापाको भनाइ छ । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बराल केही दिन अघि आएको बाढीले गृहको सुरक्षाका लागि बनाइएको बाँध ढल्ने अवस्थामा रहेकाले तत्काल सुरक्षाको काम गर्नुपर्ने बताउनुभयो । देवघाटमा हाल दैनिक आठदेखि १० वटा शव ल्याइने गरेको र हिउँदमा यो सङ्ख्या बढी हुने गरेको बरालले जानकारी दिनुभयो । रासस