• ४ साउन २०८१, शुक्रबार

सङ्घीय संसद भवनको निर्माणका कार्य समयमै पूरा गर्ने प्रयास गर्नेछु : उपप्रधानमन्त्री

blog

उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह

काठमाडौँ, साउन ४ गते । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन सङ्घीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताउनुभएको छ ।

शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका सङ्घीय संसदका पदाधिकारीहरुले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरुलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढङ्गले काम गराउन लागिपर्ने बताउनुभयो ।

उहाँले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । उपप्रधानमन्त्री सिंहले सो भवन निर्माणका लागि कुनै समस्या भए हटाएर अघि बढ्न पनि आफूले पहल गर्ने बताउनुभयो ।

त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले सो भवन समयमै सम्पन्न गर्नका लागि चासो व्यक्त गर्नुभएको भन्दै सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहाललगायतप्रति आभार व्यक्त गर्नुभएको थियो ।