• ४ साउन २०८१, शुक्रबार

अतिरिक्त समयमा सेवा सञ्चालन गर्न अस्पताललाई आग्रह

blog

काठमाडौँ, साउन ४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घीय अस्पताललाई नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गर्नुभयो । 

मन्त्रालयले अतिरिक्त समयमा सेवा सञ्चालन गर्न ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ कार्यन्वयनमा ल्याएको छ । उहाँले कार्यविधि अनुसार सेवा यथाशीघ्र सुरु गर्न र सेवा सञ्चालन गरेको जानकारी मन्त्रालयलाई गराउन आग्रह गर्नुभयो । अस्पतालले अतिरिक्त समयमा सेवा सञ्चालन गरेबापत चिकित्सक सेवा शुल्क सरकारले तोकेअनुसार र अन्य सेवा शुल्क अस्पतालले नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले जानकारी दिनुभयो ।

अस्तालले सेवाको विवरण तयार पारी सेवाग्राहीले स्पष्ट बुझ्ने गरी देखिने स्थानमा राख्नुपर्ने छ । सेवा सञ्चालन गर्नका लागि अस्पतालका प्रमुख रहेको कार्यक्रम सञ्चालन समिति गठन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । अतिरिक्त समयमा सेवा सञ्चालन सामुदायिक र सहकारी अस्पतालमा समेत लागू गर्न सकिने व्यवस्था छ । प्रदेश र स्थानीय तहले पनि आफ्नो मातहतका अस्पतालमा नियमित बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न सक्नेछन् । कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७७ लाई आवश्यकता अनुसार परिमार्जन गर्ने मन्त्रालय र उपत्यकाका सङ्घीय अस्पतालबीच सहमति भएको प्रवक्ता डा.बुढाथोकीले जानकारी दिनुभयो । रासस