• ४ साउन २०८१, शुक्रबार

हुम्लामा शतप्रतिशत रोपाइँ सम्पन्न

blog

सर्केगाड गाउँपालिका– ७ मा रोपाई गर्दै किसानहरु । तस्बिर : राजन रावत

राजन रावत  
हुम्ला, साउन ४ गते ।
हिमाली जिल्ला हुम्ला यस वर्ष शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । अधिकांश धान खेती गर्ने जग्गामा सिँचाइको व्यवस्था हुनु र वर्षा पनि भएका कारण अधिकांस जग्गामा रोपाइँ सम्पन्न भएको हो ।

चङ्खेली गाउँपालिका– ४ का किसान बासना शाहीले धेरै धान खेती हुने दार्म जिउलामा रोपाइँ सम्पन्न भएको बताउनुभयो । सिँचाइ सुविधा र वर्षा पनि भएका कारण यस जिउलामा समयमै रोपाइँ गर्न पाएको उहाँले बताएको बताउनुभयो । जिउलामा दुई हजार रोपनीभन्दा बढी जग्गामा धान खेती हुने गरेको छ ।

यसैगरी, सर्केगार्ड गाउँपालिका– ३ को उनापानी गाउँका किसान कमल महताराले गाउँभरि शतप्रतिशत रोपाइँ कार्य सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार गत वर्ष गएको पहिरोले सिँचाइ कुलो भत्काए पनि त्यसलाई मर्मत गरी चाँडै धान रोपाइँ कार्य भएको हो ।

त्यस्तै, ताँजाकोट गाउँपालिका–३ का किसान जगत शाहीले गाउँपालिका भरी शतप्रतिशत खेतमा रोपाइँ भएको बताउनुभयो । लामो खडेरी परेको भए पनि सिँचाइ सुविधा गाउँपालिकाभर भएका कारण पनि रोपाइँ गर्न सम्भव भएको हो ।

कृषि विकास कार्यालयका प्रमुख बखतबहादुर खड्काले जिल्लाभर सबै खेतमा धान रोपाइँ गर्ने कार्य पूरा भएको बताउनुभयो ।

गतवर्ष यो अवधिमा ८७ प्रतिशत खेतमा सिँचाइ कार्य सम्पन्न भएको थियो । प्रमुख खड्काले जिल्लाभर मार्सी धान खेती हुने गरेको र अधिकांश खेतमा सिँचाइ सुविधा पुगेका कारण समयमै रोपाइँकाे काम सकिएको बताउनुभयो ।

हुम्ला जिल्लामा एक हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ । हुम्ला जिल्लामा धान खेती नाम्खा गाउँपालिका बाहेक अन्य सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा हुने गर्छ । हुम्लामा उत्पादन हुने सबै धान मार्सी छ । किसानहरुले यहाँ परम्परागत रुपमा रोपाइँ गर्दै आएका छन् ।