• ४ साउन २०८१, शुक्रबार

राष्ट्रपति बाइडेनलाई श्वासप्रश्वासमा हल्का समस्या

blog

वासिङ्टन, साउन  ४ गते । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ सङ्क्रमणसँग सम्बन्धित श्वासप्रश्वासमा हल्का समस्याको लक्षण’ अनुभव गर्नुभएको र चिकित्सकको सल्लाहमा प्याक्सलोभिडको डोज दिइएको ह्वाइट हाउसले जनाएको छ ।

बाइडेनका चिकित्सक डा. केभिन ओ कनरले अमेरिकी राष्ट्रपतिलाई ज्वरो नआएको र सङ्क्रमणसँग सम्बन्धित अन्य लक्षणहरू पनि सामान्य रहेको बताउनुभएको छ ।

डा. केभिन ओ कनरले भन्नुभयो “राष्ट्रपतिले कोभिड–१९ सङ्क्रमणका कारण माथिल्लो श्वासप्रश्वास नलीमा हल्का समस्या अनुभव गरिरहनुभएको छ । उहाँलाई प्याक्सलोभिड दिइराखेका छौँ । उहाँलाई ज्वरो आएको छैन र अन्य महत्वपूर्ण लक्षणहरू सामान्य छन्।”

“राष्ट्रपतिको अनुमति लिएर मैले पहिले जस्तै नियमित अपडेटहरू प्रदान गर्न जारी राख्नेछु”, उहाँले बताउनुभयो । 

“राष्ट्रपति बाइडेन डेलावेयर फर्केर आइसोलेसनमा बस्नुहुनेछ । त्यस समयमा आफ्नो सबै कर्तव्यहरू पूर्ण रूपमा पालन गर्न जारी राख्नुहुनेछ,” ह्वाइट हाउसले बुधबार जारी गरेको विज्ञप्तिमा जनाएको थियो । 

लस भेगासमा आयोजित राष्ट्रिय सम्मेलनमा भाग लिएको एकदिन पछि ८१ वर्षीय राष्ट्रपति बाइडेनमा बुधबार कोभिड–१९ सङ्क्रमण देखिएको हो ।

सकारात्मक परीक्षण गरेपछि बाइडेनले एक्समा एक पोस्टमा भने, “मलाई कोरोना सङ्क्रमण देखाएको छ तर म ठिक छु । शुभकामनाका लागि सबैलाई धन्यवाद दिन चाहन्छु ।” 

“म निको नहुँदासम्म आइसोलेसनमा हुनेछु र यस अवधिमा म अमेरिकी जनताप्रतिको मेरो कर्तव्य पुरा गर्न जारी राख्नेछु,” उनले बताउनुभयो । 

राष्ट्रपतिको डाक्टरले बाइडेनमा सामान्य अस्वस्थताका साथै हल्का रुघाखोकी र माथिल्लो श्वासप्रश्वास नलीमा समस्याका लक्षणहरू रहेको खुलासा गर्नुभएको छ ।  

यसअघि सन् २०२२ को जुलाईमा बाइडेन पहिलोपटक कोभिड सङ्क्रमित हुनुभएको थियो । रासस/एएनआई