• ४ साउन २०८१, शुक्रबार

राहत–उद्धारमा ध्यान दिन नेता महरको आग्रह

blog

कांग्रेस नेता नैनसिंह महर । फाइल तस्विर

गोरखापत्र अनलाइन

काठमाडौं, साउन ४ गते । नवगठित सरकारका मन्त्रीलाई कांग्रेस नेता नैनसिंह महरले सिंहदरबारमा खादा, माला र बधाई थाप्न व्यस्त हुनुभन्दा बाढीपहिरोबाट प्रभावित बनेका जनताको उद्धारमा खट्न आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग आफ्नो धारणा राख्दै नेता महरले मन्त्री नियुक्त भएको हप्तौंसम्म खादा र माला थाप्नमै व्यस्त हुनु फजुलमा समय खेर फाल्नु भएको टिप्पणी गर्नुभयो । सिंहदरबार कामकाजी अड्डा हो। त्यसलाई सोहीअनुरूप प्रयोग गर्नुपर्छ। मन्त्रालयमा बसेर जनताको काम गर्नुपर्छ उहाँले भन्नुभयो, “सम्मानै थाप्न निजी निवासमा बोलाउँदा हुन्छ। जनता विपद्को सामना गरिरहनु भएको छ। यस्तो अवस्थामा सरकार राहत तथा उद्धारमा सक्रिय हुनुपर्छ ।”

महरले नयाँ सरकारलाई हिजोका सरकारजस्तो गल्ती गर्ने छुट नभएको बताउनुभयो । जनअपेक्षा र आफ्नो प्रतिबद्धताअनुरूप सरकारमा सहभागी दुई ठूला दल कांग्रेस–एमालेले काम गर्नुपर्ने उहाँको धारणा छ।

ुनयाँ सरकार निर्माण हुँदैगर्दा भएको राजनीतिक सम्झौताअनुसार काम गर्नुपर्छ। भ्रष्टाचार अन्त्य, सुशासन, दिगो विकास, आर्थिक सुदृढीकरण, समृद्धि र जनताको जनजीविका सवालमा सरकार गम्भीर हुनुपर्छ उहाँले भन्नुभयो, “युवालाई देशमै रोकेर श्रमको सदुपयोग गर्नेतर्फ सरकार जिम्मेवार भएर सोच्नुपर्छ । दुई ठूला दल एक ठाउँमा आउँदा जनतामा आशा जागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेमा कांग्रेस–एमालेप्रति जनतामा थप वितृष्णा पैदा हुनेछ ।” राजनीतिक दलका कार्यकर्तालाई राहत तथा उद्धार काममा खटाउनुपर्ने उहाँले सुझाव दिनुभयो ।