• ४ साउन २०८१, शुक्रबार

कोइलाबासमा बर्सेनी बढ्दै राजस्व सङ्कलन

blog

कोइलाबासमा रहेको भन्सार कार्यालय । तस्बिर : लीलाधर वली

लीलाधर वली  
घोराही, साउन ४ गते ।
दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/०८१  मा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । जिल्लाको भन्सार कार्यालय रहेको कोइलाबास नाकामा चहलपहल बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको हो ।

आर्थिक वर्ष २०८०/०८१  एक करोड तीन लाख ३८ रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको कोइलाबास भन्सार कार्यालयले असार मसान्तसम्म एक करोड ४० लाख ७६ हजार ९० रुपियाँ राजस्व सङ्कलन गरेको कोइलाबास भन्सार कार्यालयका प्रमुख दीपक शर्माले जानकारी दिनुभएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ४४ लाख ३५ हजार दुई सय ७८ रुपियाँ बढी हो ।

कार्यालय प्रमुख शर्माका अनुसार आर्थिक बर्ष २०७९/०८० मा २१ लाख ३९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा करिब पाँच गुणा बढी अर्थात् ९६ लाख २० हजार  आठ सय १२ रुपियाँ राजस्व सङ्कलन भएको थियो । कोइलाबास भन्सार कार्यालयका प्रमुख शर्माका अनुसार अधिकांश राजस्व सवारीसाधनबाट उठ्ने गरेको छ । भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनसँगै विभिन्न खाद्यान्नलगायतका सामग्रीबाट उठ्ने गरेको बताउनुहुन्छ । 

नाका सञ्चालनमा आएसँगै प्रत्येक बर्ष राजस्व सङ्कलनमा बृद्धि भइरहेको भन्दै कार्यालय प्रमुख शर्माले भन्नुभयो, “कोइलाबास भन्सार कार्यालय, दाङ जिल्लाको एक मात्र भन्सार कार्यालय हो । लामो समय बन्द रहेको नाका सञ्चालनमा आएसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भइरहेको छ ।”

प्रत्येक बर्ष लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुँदै गएपछि कोइलाबास भन्सार कार्यालय आर्थिक वर्ष २०८१/०८२ मा एक करोड ६३ लाख ६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

कोइलाबास भन्सार कार्यालयमा प्रत्येक वर्ष राजस्व सङ्कलन वृद्धि भइरहेको भन्दै कार्यालय प्रमुख शर्माले भन्नुभयो, “कोइलाबास भन्सार कार्यालय छोटी भन्सार कार्यालयमा रुपमा रहेपनि राजस्व सङ्कलनको अवस्था प्रत्येक वर्ष वृद्धि भइरहेको छ । कोइलाबास क्षेत्रमा चहलपहल बढ्दै जानु दाङसहित साविकको राप्ती क्षेत्रका लागि राम्रो हो ।”

कोइलाबास भन्सार कार्यालयबाट खासगरी खाद्यान्न र सामग्रीभन्दा पनि यातायताका साधानबाट बढी राजस्व सङ्कलन हुने गरेको छ । काइलबासमा रहेको नेपालकै दोस्रो ठुलो रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, घोराहीको चौघेरा मन्दिर, देउखुरीको रिहारलगायतका ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने भारतीय नागरिकले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व सङ्कलन हुने गरेको कार्यालय प्रमुख शर्मा बताउँनुहुन्छ । त्यससँगै साना थोरै मात्रमा खाद्यान्न, फर्निचरलगायतका सामग्रीहरु आउँदा पनि राजस्व सङ्कलन हुने गरेको छ । 

सामग्रीको तुलनामा घुमफिर तथा कामका लागि आउने नागरिकाले प्रयोग गर्ने सवारीसाधनबाट बढी राजस्व उठ्ने गरेको भन्दै कार्यालय प्रमुख शर्माले भन्नुभयो, “भारतले छोटी भन्सारका रूपमा लिने भएकाले २५ हजारभन्दा बढीको सामग्री ल्याउन दिँदैन, जसले गर्दा व्यावसायिक रूपमा नाका चल्न नसकेपनि भारतको तुलसीपुरबाट दाङका विभिन्न ठाउँसँगै प्युठानको स्वर्गद्वारीसम्म पुग्नका लागि छोटो दूरी रहेकाले धेरै सवारीसाधन चल्ने र त्यसबाट नै कर उठ्ने गरेको छ ।”

कोइलाबास नाकाबाट बिदाको समयमा दैनिक सयभन्दा बढी सवारीसाधनमा नागरिकहरु घुमफिरका लागि नेपाल आउने गरेको भन्सार कार्यालय प्रमुख शर्मा बताउनुहुन्छ ।

भन्सार कार्यालय कोइलाबासले नेपाल आउने भारतीय दुई पाङ्ग्रे सवारीबाट प्रतिदिन दुई सय रुपियाँ र चार पाङ्ग्रे सवारीसाधनबाट प्रतिदिनको छ सय रुपियाँका दरले राजस्व सङ्कलन गर्ने गरेको छ । कोइलाबास भन्सार कार्यालयमा पशु क्वारेन्टाइनलगायतका आवश्यक संरचना स्थापना गर्ने अन्य नाका जस्तै खुल्ला रुपमा सञ्चालन गर्न सके राजस्व वृद्धिसँगै जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने कार्यालय प्रमुख शर्मा बताउँनुहुन्छ ।