• ४ साउन २०८१, शुक्रबार

हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते

blog

झापा, साउन ४  गते ।  गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिनुभयो । उहाँले झापामा एक वर्षको अवधिमा छ, सुनसरीमा तीन र मोरङमा एक जनाको ज्यान गएको बताउनुभयो । 

“झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौंडाबाट गत वर्षको कात्तिकमा पसेका रैथाने हात्ती ३५ भन्दा बढीकाे समूहले ठूलो धनजनको क्षति गरेको थियो । सोही अवधिमा झापामा चार वटा र मोरङमा एउटा हात्ती मरेका थिए”, प्रवक्ता दाहालले भन्नुभयो । उहाँले एक वर्षको अवधिमा हात्तीको आक्रमणबाट झापामा १४, इलाममा एक, मोरङमा तीन, सुनसरीमा पाँच र उदयपुरमा दुई गरी २५ जना घाइते भएको जानकारी दिनुभयो ।

 हात्तीको आक्रमणबाट ज्यान गुमाउनेलाई सरकारले रु. १० लाख क्षतिपूर्तिस्वरुप प्रदान गर्दै आएको छ । घाइतेको उपचारका लागि रु. २५ हजारदेखि रु. एक लाखसम्म उपलब्ध गराउँदै आइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । रासस