• ४ साउन २०८१, शुक्रबार

अधिकांश सवारी दुर्घटना चालकको लापरबाहीका कारण

blog

सवारी दुर्घटना न्यूनीकरणका लागि सडकमा चेकजाँच गर्दै ट्राफिक प्रहरी । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, साउन ४ गते ।
बाँकेमा अधिकांश सवारी दुर्घटना लापरबाहीका कारण भएको प्रहरीेले जनाएको छ । गत आर्थिक वर्षमा एक सय ५८ वटा सवारी दुर्घटनामा परी ६६ जनाले ज्यान गुमाएको छ । उक्त दुर्घटनामध्ये अधिकांश सवारी दुर्घटना हुनुको मुख्य कारण भने लापरबाहीनै देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले मुख्यतः सवारी चालक र सडक प्रयोगकर्ताको लापरवाहीका कारण सवारी दुर्घटना हुने गरेको बताउनुभयो ।

प्रहरी प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो, “जति पनि सवारी दुर्घटना भएका छन्, अधिकांशमा लापरवाहीकै कारण भएका छन्, धेरैजसो चालककै लापरवाहीका कारण भएका छन् भने केही दुर्घटना सडक प्रयोगकर्ताका कारण भएका छन् ।”

“चालकले मापसे गरेर सवारी साधन चलाउनु, तीव्र गतिमा चलाउनु, जहाँ पायो त्यहीँबाट ओभर टेक गर्नु, क्षमताभन्दा बढी यात्रु बोक्नु लगायतका कारणबाट अधिकांश दुर्घटना भएका छन् ।” प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो, “कतिपय दुर्घटनाका कारण सडक प्रयोगकर्ता आफैँ पनि देखिएका छन्, सडक नियमको पालना नगर्ने, नजिकै जेब्रा क्रसिङ भए पनि हतारहतार गरेर जहाँ पायो त्यहीँबाट सडक क्रस गर्ने गर्दा पनि कतिपय दुर्घटना र्भइ ज्यान जाने गरेको छ ।”

प्रहरी निरीक्षक सुवेदीका अनुसार मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेहरु त अधिकांश मादक पदार्थ सेवन गरेर चलाएको पाइएका थिए । “मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने, तीव्र गतिमा चलाउने, हेलमेटसमेत प्रयोग नगर्ने अनि बेहोस जस्तै भएर ठूला गाडीमा गएर ठक्कर दिने, भित्तामा ठोक्किने तथा सडक बारहरुमा ठोक्किएर धेरैको ज्यान गएको छ ।” सुवेदीले भन्नुभयो ।

बाँकेमा भएका सवारी दुर्घटनामध्ये अधिकांश दुर्घटना नेपालगन्ज–कोहलपुर सडकखण्डमा भएका छन् । यसै सडकखण्डमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले बेलाबेलामा राडर गनसहितको चेकजाँच गर्नुका साथै सचेतनाका कार्यक्रमहरु समेत गर्दै आएको छ । पछिल्लो समयमा ट्राफिक प्रहरीले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ जसका कारण सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी बनेको ट्राफिक प्रहरी बताउछ ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार गत वर्ष भएका एक सय ५८ सवारी दुर्घटनामा परी ४८ जना पुरुष, १६ जना महिला र दुई जना बालक गरी ६६ जना नागरिकको ज्यान गएको हो । एक सय ५० पुरुष, ४७ महिला र १५ बालबालिका गरी दुई सय १२ जना नागरिक घाइते भएका थिए ।

त्यसैगरी दुर्घटनामा परी १२ वटा पशुचौपायाको ज्यान गएको र तीनवटा पशुचौपाया घाइते भएका थिए ।