• ४ साउन २०८१, शुक्रबार

अतिक्रमित विद्यालयको जग्गा खाली गराउन नगरपालिकाले चलायो डोजर

blog

सामुदायिक विद्यालयको अतिक्रमित जग्गामा बनेका घरमा डोजर लगाउँदे नगरपालिका । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिवास, साउन ४ गते । गौशाला नगरपालिकाले सामुदायिक विद्यालयको अतिक्रमित जग्गा खाली गराएको छ । नगरपालिका–७ मनहरवास्थित राष्ट्रिय जनजाति आधारभूत विद्यालयकोे जग्गा कब्जा गरी बनाइएका ३ वटा घरमा शुक्रबार डोजर चलाइएको हो ।

स्थानीय भोला सहनी, विन्दे सहनी र चन्दर सहनीले अवैधानिक रुपमा कब्जा गरेको जग्गा खाली गराउन पटक–पटक निर्देशन र आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर सुरक्षा बल परिचालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

वडाध्यक्ष मनोजकुमार चौधरीका अनुसार आधारभूत विद्यालयका १८ कठ्ठा जग्गा छ । सोही जग्गामध्ये करिव तीन कठ्ठामा उनीहरुले आफूखुसी घर बनाएर बसोवास गर्दै आएका थिए । यी परिवारका कारण विद्यालयको भौतिक सुरक्षामा पनि समस्या आउन थालेपछि सामाजिक स्तरबाट समेत जग्गा खाली गराउन दबाब परेको थियो ।

नगरपालिकाले २८ लाख रुपियाँ सहयोगमा अहिले विद्यालयको कम्पाउण्ड लगाउने काम भइरहेको छ । अतिक्रमणका कारण कम्पाउण्डको काम निर्बाधरुपमा अघि बढ्न सकेको छैन ।

चौधरीले भन्नुभयो, ‘‘विद्यालय र समाजको आग्रहलाई सुनुवाइ नगरेपछि नगरपालिकाले ३५ दिने र ७ दिने सूचना जारी गर्‍य ाे । त्यसको पनि अटेर गरेपछि बाध्य भएर सुरक्षा घेरामा डोजर चलाउनुपरेको हो ।’’

अतिक्रमित जग्गा खाली गराउन ठुलो सङ्ख्यामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको थियो । सुरक्षा नेतृत्व गर्नुभएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्य रानले घर गोठ हटाउने क्रममा कुनै प्रकारको अप्रिय घटना नघटेको बताउनुभयो ।

सहनी परिवारले आफ्नो नाममा जग्गा हुँदाहुँदै पनि विद्यालयको जग्गा अतिक्रमण गरेर घर बनाएदेखि विरोध हुँदै आएको थियो ।