• ३ साउन २०८१, बिहिबार

गाजापट्टीमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष : युएनआरडब्लुए

blog

गाजा, साउन ३ गते । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए)ले बुधबार गाजापट्टीमा विस्थापित मानिसहरूमा रोगको सङ्क्रमण रोक्न सङ्घर्ष गरिरहेको बताएको छ ।

“उच्च तापक्रम, भीडभाड, पानीको अभाव, र व्यक्तिगत स्वच्छताका सामग्री र कीटाणुनाशक जस्ता स्वास्थ्य स्रोतको आपूर्तिको गम्भीर अभावले विस्थापितहरूमा छालाको सङ्क्रमण र ब्याक्टेरिया प्रदूषणमा वृद्धि भएको छ’’, युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।

आफूसँग भएको सीमित स्रोत र उपचार सामग्रीको अभावका बावजुद पनि रोगको सङ्क्रमण नियन्त्रण गर्न र स्वास्थ्य केन्द्रमार्फत यस्तै मामिलाहरूको बढ्दो रोकथाम गर्न ठूलो प्रयास गरिरहेको युएनआरडब्लुएले जनाएको छ ।

एजेन्सीले गाजामा सकेसम्म चाँडो युद्धविराम आवश्यक रहेको कुरामा जोड दियो ।

पछिल्लो २४ घण्टामा, इजरायली आक्रमणबाट ८१ जनाको ज्यान गएको छ भने एक सय ९८ जना घाइते भएका छन् ।

यससँगै प्यालेस्टिनी–इजरायली द्वन्द्व सुरू भएदेखि हालसम्म कुल मृत्यु सङ्ख्या ३८ हजार सात सय ९४ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ८९ हजार तीन सय ६४ पुगेको गाजामा आधारित स्वास्थ्य अधिकारीहरूले बताउनुभयो । रासस/सिन्ह्वा