• ३ साउन २०८१, बिहिबार

वर्षाले करोडौँको क्षति

blog

रवीन्द्र उप्रेती

बर्दीबास, साउन ३ गते । यसै साताको आइतबार र सोमबार परेको अविरल वर्षाले बर्दीबासका विभिन्न वडामा करोडौँ मूल्य बराबरको क्षति पु-याएको छ । बाढी वर्षाले सयौँ बिघा जग्गा र घरमा क्षति पु-याएको छ भने ठाउँ ठाउँमा सडक कटान गर्नाले आवागमन असहज बनाएको छ । 

भवसीदेखि ६ नं वडास्थित नेपाली सेनाको पृतना जाने कृषि सडकको कल्भर्ट नजिक खोलाले खाल्डो पारेपछि आवागमन असहज बनेको छ । खाल्डोका कारण सैनिक विद्यालयको स्कुल बसलाई आवागमनमा समस्या परेको प्रमुख सेनानी इमशमेहर श्रेष्ठले बताउनुभयो । ७ नंं वडाध्यक्ष रामसोगारथ यादव भोरिलका अनुसार बडहरी खोलाले करिब एक सय बिघा खेतीयोग्य जमिनमा क्षति पु¥याएको छ । सोही खोलाका कारण प्रेमनगरका १० परिवार जोखिममा परेका छन् । प्रेमनगरदेखि धुम्मासन जाने बाटोको कल्भर्ट कटान गरेकाले आवागमन कष्टकर भएको बताउनुभयो । 

भवसी खोलामा आएको बाढीले वडा नं ८ को क्वाटर चोकदेखि चिनी मिल जाने बाटो कटान गरेपछि आवागमन ठप्प भएको वडाध्यक्ष शमशेरसिंह लामाले बताउनुभयो । वर्षाले उत्तरी भेगको चुरे क्षेत्रका दर्जन बस्तीमा क्षति पुगेको छ । वडा नं ५ मा वडाध्यक्ष कहारमान स्यान्तानका अनुसार मडाहा, गढन्ता, ढुङ्ग्रे र सिरखोलाले धान, मकैसहितको २५ बिघा जति जग्गा कटान गरेको बताउनुभयो । वडा नं १० खयरमारामा पनि बाढी र वर्षाले ठाउँ ठाउँमा सडक कटान गरेको वडाध्यक्ष प्रमोद मुक्तानको भनाइ छ । वडा नं ११ का अध्यक्ष पूर्णबहादुर बलका अनुसार अविरल वर्षाका कारण बाँके, बुडुवा र खयरमारा खोलामा आएको बाढीले चुरे र भावर क्षेत्रका विभिन्न ठाउँमा भूक्षय गर्नुका साथै तीलबारी, छोड्के लगायतका गाउँमा दुई परिवारका करिब रोपोसहितका तीन बिघा जग्गामा क्षति पु-याएको छ । 

सोही बेला चट्याङ पर्दा वडा नं ५ र ११ मा दुई जना घाइते हुनुका साथै तीन थान चौपाया मरे पनि पीडित परिवारले अझैसम्म राहत नपाएको वडाध्यक्ष बलले बताउनुभयो । समस्यालाई सम्बोधन गर्न बर्दीबास नगर कार्यपालिकामा बुधबार बसेको स्थानीय विपत् व्यवस्थापन समितिको बैठकले वर्षाजन्य जोखिमको रोकथाम र क्षतिका बारेमा छलफल गरेको छ । 

नगरप्रमुख एवं समितिका अध्यक्ष प्रह्लाद क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा प्रकोप पीडित वडाका वडाध्यक्षहरू, सुरक्षा निकायका प्रतिनिधि, रेडक्रसकर्मी र विभिन्न सङ्घ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीले मनसुनी वर्षा भर्खरै सुरु भएकाले अहिलेसम्म पारेको क्षति र यसपछि हुन सक्ने क्षतिको रोकथाम, उद्धारलगायतका समस्या र समाधानका उपायबारे विभिन्न कोणबाट छलफल भएको थियो ।  

समितिको बैठकमा सडक दायाँ बायाँ रोपिएका युक्लिप्टसका रुखका कारण उत्पन्न जोखिमदेखि विपत्पूर्व गरिनुपर्ने काममा देखा परेका समस्या र नगरपालिकाले खरिद गरेर सुरक्षाकर्मीलाई दिने गरेको उद्धार सामग्रीको गुणस्तरलाई लिएर पनि विभिन्न प्रश्न उठाइएको थियो । नगरप्रमुख प्रह्लाद क्षेत्रीले चुरेबाट सिर्जित दुई दर्जन बढी नदी, खहरे र खोला खोल्सीले घेरिएको बर्दीबासको प्रकोप नियन्त्रणमा प्राकृतिकदेखि कानुनी जटिलताले अनेकन समस्या थपेको उदाहरण प्रस्तुत गर्नुभयो । 

विपत्का बेला नदी नियन्त्रण गरेर जनधनको सुरक्षा गर्ने ठेकेदारलाई भुक्तानी दिन संवद्ध निकायले अनेक थरी बाधा अड्चन गर्ने गरेको क्षेत्रीले गुनासो गर्नुभयो । बाढी प्रकोपको सर्वाधिक जोखिममा रहेको बर्दीबास नगरपालिकाले चालु आव २०८१/८२ मा विपत् व्यवस्थापनका लागि ७६ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।