• २ साउन २०८१, बुधबार

योजनाहरू शिलान्यास मात्रै गरेर छोड्नु हुँदैन : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमनत्री शेरबहादुर देउवा नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, साउन २ गते । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमनत्री शेरबहादुर देउवाले कुनैपनि योजनाहरू शिलान्यास मात्रै गरेर छोड्न नहुने बताउनुभएको छ । बुधबार काठमाडौँको धापासीमा नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

सभापति देउवाले शिलान्यास गर्ने तर नबनाइदिँदा अलपत्र हुने भन्दै कुनैपनि योजनाको उद्घाटन मात्रै गरेर छोड्नु नहुने बताउनुभयो । उहाँले स्व.मङ्गलादेवी सिंहको नाममा भवन शिलान्यास गर्न पाउनु आफ्नो लागि सौभाग्यको विषय भएको बताउनुभयो ।

उहाँले मङ्गलादेवी आफैँमा एउटा संस्था भएको जिकिर गर्नुभयो । उहाँले मङ्गलादेवीको नाममा बन्न लागेको भवनको निर्माण छिट्टै सम्पन्न गर्न सम्पूर्ण काठमाडौँवासीको साथ र सहयोग चाहिने बताउनुभयो ।

‘‘आज मङ्गलादेवी सिंहको नामको भवनको शिलान्यास गर्ने मौका पाएको छु । यो मेरा लागि धेरै ठुलो सौभाग्यको कुरा हो । मङ्गलादेवी गणेशमानजीको श्रीमतीमात्रै नभएर मङ्गलादेवी आफैँमा पनि मङ्गलादेवी सिंह हो । त्यसकारण उहाँ गणेशमानजीको श्रीमतीको नामबाट होइन, मङ्गलादेवी आफैँमा एउटा संस्था हो । उहाँको नाममा भवन शिलान्यास गर्न लागेका छौँ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘तर यो बन्नुपर्छ, शिलान्यास मात्रै गर्ने अरू नबन्ने हुनुहुँदैन । मैले उद्घाटन गर्न मात्रै भए शिलान्यास नै नगर भनेको छु । यसको उद्घाटन गर्ने काम पनि होस्, घर पनि बनोस् । यहाँ भएका महिला दिदिबहिनीहरुबाट मात्रै होइन, सम्पूर्ण काठमाडौँवासीबाट सहयोग होस् । यो बनेको खण्डमा मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।’’

सभापति देउवाले मङ्गलादेवीको नाममा बन्न लागेको भवन निर्माण भइसकेको खण्डमा र त्यहाँबाट महिलाका हक, अधिकारका आवाज उठ्न थालेपछि मात्रै मङ्गलादेवीप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।