• २ साउन २०८१, बुधबार

संविधानबाट प्राप्त अधिकार संरक्षणमा लाग्न उपप्रधानमन्त्री सिंहको आग्रह

blog

उपप्रधान एवम् सहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयको नयाँ भवन निर्माणको शिलान्यास कार्यक्रममा बोल्नुहुँदै ।

काठमाडौँ, साउन २ गते । उपप्रधान एवम् सहरी विकासमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ । बुधबार काठमाडौँको धापासीमा नेपाल महिला सङ्घ केन्द्रीय कार्यालयका लागि नयाँ भवन निर्माणको शिलान्यास गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उपप्रधानमन्त्री सिंहले अहिले नेपालीहरूले पाएको अधिकारका लागि महिलाहरूको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्राप्त अधिकारका लागि नेपाली महिलाहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्न नहुने जिकिर गर्नुभयो ।


‘‘यो भवन समयमै सम्पन्न होस् । उद्घाटन पार्टी सभापतिबाट हुँदा अझ राम्रो हुन्छ । अधिकार प्राप्त गर्नका लागि मङ्गलादेवी लगायतका महिला नेतृहरूको धेरै योगदान रहेको छ । हामी सबैले त्यसको गम्भीरतालाई बुझ्नुपर्छ । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि पनि गुमेका अधिकारहरूलाई पुनः प्राप्ति गर्नका लागि मङ्गलादेवी सिंहलगायत शैलजा आचार्यहरू सबै जेल गएको कुरा बिर्सिनु हुँदैन ।,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘‘अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक जुन संविधानबाट प्राप्त गरेका अधिकारहरू छन् । ती अधिकारहरू प्राप्त गर्नका लागि हाम्रो पार्टीका धेरै महिला नेतृहरूले ठुलो योगदान दिनुभएको छ । त्यसैले अहिले आएर हामीले भेला भएर आफ्ना कुरा राख्नसक्ने अवस्थामा पुगेको कुरालाई नजरअन्दाज गर्नुहुँदैन ।’’

उपप्रधानमन्त्री सिंहले मङ्गलादेवीको नाममा शिलान्यास भएको भवन छिट्टै बनाइसक्नुपर्ने र पार्टी सभापति शेरबहादुर देउवाको हातबाटै उद्घाटन गर्दा राम्रो हुने बताउनुभयो । २००७ सालमा प्राप्त गरेको अधिकार २०१७ सालमा गुमिसकेपछि फेरि गुमेका अधिकारहरूलाई पुनः प्राप्ति गर्न मङ्गलादेवी सिंह र शेलजा आचार्य लगायतका महिलाहरूको योगदान अविस्मरणीय रहेको बताउनुभयो ।