• ४ साउन २०८१, शुक्रबार

नाइरोबी फ्लाई किराको सङ्क्रमणबाट बच्न चिकित्सकको सुझाव

blog

काठमाडौँ, साउन ४  गते । वर्षायाम सुरु भएसँगै नेपालमा छालामा नाइरोबी फ्लाई किराको सङ्क्रमण बढ्ने गर्छ ।  यो मौसममा पाइने नाइरोबी फ्लाई किराको सम्पर्कमा आएपछि छालामा सङ्क्रमण बढ्ने चिकित्सकको भनाइ छ । अहिले मुख्यगरी तराईका जिल्लामा यो किराको सङ्क्रमण बढेको छ । 

सिभिल अस्पतालका छालारोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीले पछिल्लो केही दिनदेखि अस्पतालमा नाइरोबी फ्लाई किराले गर्दा छालामा एलर्जी लिएर बिरामी आउने बताउनुहुन्छ । उहाँका अनुसार अस्पतालमा प्राय छालामा राता धर्सा, फोका आउने चिलाउने पोल्नेलगायतका छालासम्बन्धी समस्या लिएर बिरामी आउने गर्छन् । 

अस्पतालमा प्राय छालामा राता धर्सा, फोका आउने चिलाउने पोल्नेलगायतका छालासम्बन्धी समस्या लिएर बिरामी आउने गर्छन् । 

नाइरोबी किराको सम्पर्कमा आउँदा उक्त किराबाट एक किसिमको विषालु रसायन निस्कने हुँदा छालामा विभिन्न समस्या निम्तने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नाइरोबी फ्लाईले टोक्दैन । शरीरको कुनै भागमा बसेको अवस्थामा छुँदा, थिचिँदा वा मिचेको अवस्थामा ‘पेडेरिन’ नामक विषाक्त रसायन निस्कन्छ । उक्त रसायनले छालामा एलर्जी बनाउने गर्छ ।”

रसायन छालामा परेपछि छाला पोल्ने, राता धर्सा, फोका, घाउ आउने र दाग बस्नेजस्ता छालाका समस्या निम्तने गर्दछ । यो किरा छालाको सम्पर्कमा आउँदा विशेषगरी, मुख वरिपरि, आँखा वरिपरि, यौनाङ्ग वरिपरि, काखीमुनी, घाँटी वरिपरि राता धर्साजस्ता बिमिरा आउने गर्दछ । 

उहाँ भन्नुहुन्छ, “छालामा किरा माडिएको तीनदेखि दुई दिनमा राता धर्सा देखिने, दुईदेखि चार दिनमा पानी फोका आउने गर्दछ । यस्तो समस्या कहिलेकाहीँ  हप्ता, दुई हप्तामा आफैं ठिक भएर जान्छ ।”  निको भएन भने फोका फुटेर विषालु रसायनले घाउमा सङ्क्रमण हुने, ज्वरो आउनेजस्ता स्वास्थ्य समस्या निम्तिने उहाँको भनाइ छ । 

चिकित्सकका अनुसार नाइरोबी फ्लाई किरा बिटल्स प्रजातिको कालो र सुन्तला रङ्गको एक सेन्टिमिटर लामो किरा हो । उक्त किरा युभी लाइट भएको ठाउँमा, सडेगलेको खानेकुरा, खाली ठाउँमा पाइने गर्छ । चिकित्सकका अनुसार खुल्ला ठाउँमा काम गर्ने, धेरै चम्किलो  लाइटमा काम गर्ने मानिस, फोहोरमा काम गर्ने मानिस यो समस्याको जोखिममा हुने गर्दछन् । 

छालाको समस्याबाट बच्न किरा छालाको सम्पर्कमा आइहालेमा नमाड्न उहाँको सुझाव छ । घाउ वा बिमिरा आउन नदिन तुरुन्त किरा बसेको ठाउँमा साबुन पानी वा आयोडिनले राम्रोसँग सफा  गर्न र शरीरका अन्य भागमा फैलिन नदिन नुहाउन उहाँको आग्रह छ । 

किरा हातले नछुने, शरीरको कुनै पनि भागमा किरा बसेमा नमाड्ने, लामो बाहुला भएका लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, बत्ती बलेको कोठामा जाली लगाउने गर्नुपर्छ ।

छाला धेरै पोल्यो, चिलायो वा दुखेमा चिकित्सकको परामर्शमा चिलाउन, पोल्न र दुखाई कम गर्ने औषधी खान वा मलम लगाउन उहाँको सुझाव छ । छालाको समस्याबाट बच्न किरा छालाको सम्पर्कमा आइहालेमा नमाड्ने, नुहाउने, साबुन पानीले पखाल्न उहाँले सुझाव दिनुभयो । 

किराको सम्पर्कमा आउनबाट बच्न झुल लगाएर सुत्ने, किरा घरभित्र छिर्न नदिन ढोका वा झ्यालमा जाली लगाउने, पुरै शरीर छोप्ने लुगा लगाउन उहाँको आग्रह छ । उहाँ भन्नुहुन्छ, “किरा हातले नछुने, शरीरको कुनै पनि भागमा किरा बसेमा नमाड्ने, लामो बाहुला भएका लुगा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, बत्ती बलेको कोठामा जाली लगाउने गर्नुपर्छ ।”

चिकित्सकका अनुसार नाइरोबी फ्लाई किरा बिटल्स प्रजातिको कालो र सुन्तला रङ्गको एक सेन्टिमिटर लामो हुन्छ । यो प्रजातिका किराहरु ६० हजारभन्दा बढी प्रजातिका हुन्छन् । यी किरा बढीजसो नेपाल, श्रीलंका, अफ्रिका, भारत, इरान लगायतका देशमा बढी पाइन्छन् । यो किरा पानी पर्ने समय वर्षा याममा बाहिर निस्कन्छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।