• २ साउन २०८१, बुधबार

सात वर्षमा पनि बनेन बुटवलको सडक

blog

बुटवल समाचारदाता 

बुटवल, साउन २ गते । बुटवलको राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे तीन किलोमिटर सडक सात वर्षमा पनि निर्माण नभएपछि ठेक्का सम्झौता रद्द गरी नयाँ टेन्डर गरिएको छ ।  सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पुरानो निर्माण व्यवसायीले समयमा काम नगरेपछि ठेक्का तोडेर नयाँ ठेक्का गरिएको बताउनुभयो । उहाँले छ महिनाभित्र सक्ने गरी ५८ करोड रुपियाँमा यो सडकको पुनः टेन्डर गरिएको बताउनुभयो । बुटवलको मुख्य बजार क्षेत्रको साढे तीन किलोमिटर सडक सात वर्षअघि बिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको थियो । 

२०६९ सालमा चार लेनमा निर्माण भएको यो सडकखण्ड पछि छ लेनमा विस्तार गर्ने योजना अघि बढेको थियो । सडकको काममा हालसम्म करिब ३५ करोड रुपियाँ खर्च भइसकेको छ तर आधा पनि काम भएको छैन । 

यो सडकमा अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट पिच गर्ने योजना रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । कञ्चनजङ्घा बिरुवा जेभी काठमाडौँले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार ४६७ रुपियाँमा ठेक्का पाएको थियो । विसं २०७६ सम्ममा सडक विस्तार सक्ने गरी विसं २०७३ साल चैत १३ मा ठेक्का सम्झौता भएको थियो । 

पटक पटक म्याद थप्दासमेत सात वर्षसम्म सडक निर्माणको काम सम्पन्न नभएपछि डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको हो । उक्त सडकखण्ड अब डिजाइन परिवर्तन गरी निर्माण गरिने भएको छ । 

बुटवल–बेलहिया व्यापारिक मार्ग भनिए पनि व्यवसायीमैत्री सडक बन्न नसकेको गुनासो आइरहेका बेला उपमहानगरपालिकाले सडकको पुनः डिजाइन गरी बनाउन कार्यदलसमेत गठन गरेको छ । 

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख बिसुनदास लामाले २०७३ सालदेखि सुरु भएको बुटवल–बेलहिया व्यापारिक मार्गको काम पटक पटक म्याद थप्दासमेत ठेकेदार कम्पनीले सम्पन्न नगरेपछि ठेक्का तोडेर नयाँ टेन्डर गर्नु परेको बताउनुभयो ।

अब निर्माण हुने उक्त सडकको लेन ठुलो र पार्किङ व्यवस्थापनसमेत मिल्ने गरी नयाँ डिजाइन गरेर काम अगाडि बढाउने तयारी छ । अब सडकको फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट साथै स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ ।

सूचना अधिकारी लम्सालले करिब ५० करोडको इस्टिमेट गरी सहमतिका लागि अर्थमा पठाइएको र अर्थबाट सहमति आएर नयाँ ठेक्का प्रव्रिmया अघि बढेको लम्सालको भनाइ छ ।