• २ साउन २०८१, बुधबार

पहिरोले सडक रोकिँदा आवतजावतमा समस्या

blog

मीना कँडेल

कावासोती, साउन २ गते । पहिरोका कारण अवरुद्ध रहेका नवलपुरको पहाडी क्षेत्रका मुख्य सडकमा मङ्गलबारदेखि पहिरो हटाइँदै छ । हुप्सेकोट गाउँपालिकाको समन्वयमा सरोकारवालाको संयुक्त टोलीले अनुगमन गरी पहिरो पन्छाउन सुरु भएको हो ।

पहाडी क्षेत्रलाई जोड्ने मुख्य राजमार्गका रूपमा रहेको दलदले–धौवादी सडकखण्डको पाङ्ग्रेमा ठुलो पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ । सडक विगत दुई सातादेखि अवरुद्ध हुँदा आवतजावत गर्न कठिन भएको छ । बर्खाको समय होस् या हिउँदको पानी परेपछि नवलपुरको पहाडी क्षेत्रका ग्रामीण सडक अवरुद्ध हुँदा दैनिक हिँड्ने यात्रुले सास्ती भोग्दै आइरहेका छन् । वर्षाका कारण सडक बिगिँ्रदा नवलपुरका ग्रामीण सडकमा बर्सेनि ठुला दुर्घटना हुने गरेका छन् । 

स्थानीय राजबहादुर रानाले पहिरोका कारण यस क्षेत्रमा चल्ने सार्वजनिक सवारी नियमित रूपमा चल्न सकेका छैनन् भने स्थानीयलाई अस्पताल जान र दैनिक उपभोग्य सामान ओसारपसार गर्नसमेत असहज भएको बताउनुभयो । उहाँले भन्नुभयो, “दलदले–बुलिङगटार सडकखण्डको पाङ्ग्रेमा दिनहुँ जसो पहिरो खसेपछि यस खण्ड भएर आवतजावत गर्नेले सास्ती भोग्नु परेको छ ।” पाङ्ग्रेसँगै अन्य विभिन्न ठाउँमा सानो सानो पहिरो खसिरहेकाले यस सडकखण्डमा यात्रा गर्न जोखिम भएको उहाँले बताउनुभयो ।

बौदीकाली गाउँपालिका–५, बोबकका ६५ वर्षीय सन्तबहादुर पाटामगर हातखुट्टा नचलेर बिरामी पर्नुभयो । यातायात अवरुद्ध भएका कारण उपचारका लागि परिवार र स्थानीयले पाँच घण्टाको बाटो बोकेर सवारी चल्ने स्थानसम्म पु-याएको हर्षबहादुर रानाले बताउनुभयो । 

सडकको स्तरोन्नति गर्ने काम चलिरहेकाले भित्तो काट्ने र ग्राभेल बिछ्याउने कामसमेत चलिरहेकाले सानो पानी परेपछि सडक अवरुद्ध हुने गरेको छ । पहाडी क्षेत्रमा जाने सडक वर्षाको समयमा हरेक वर्ष महिनौँसम्म अवरुद्ध हुने गर्छ । सडक अवरुद्ध भएर सवारी चल्न नसक्दा यस क्षेत्रका अर्खला, बुलिङ्गटार, धौवादी, डेढगाउँ, डाँडाझेरी, रकुवा, रुचाङ्ग, भारतीपुर, मिथुकरमलगायतका हजारौँ नागरिक प्रभावित भएका छन् । 

हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले पाङ्ग्रे भिरको पहिरो मङ्गलबारदेखि सडक डिभिजन कार्यालय भरतपुरको समन्वयमा निर्माण कम्पनीमार्फत हटाउन सुरु गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले पहिरो गएको ठाउँमा समेत पहिरो पन्छाएर सडक खुलाउन समन्वय भइरहेको बताउनुभयो । निरन्तर वर्षा भइरहेकाले काम गर्न गाह्रो भइरहेको उहाँले बताउनुभयो ।