• २ साउन २०८१, बुधबार

पहाडी क्षेत्रमा बजारीकरण बढ्दो

blog

तस्बिर : बाबुराम कार्की धरान कृषि उपज बजारस्थलमा पहाडी जिल्लाबाट ल्याइएका कृषि उपज उतार्दै कृषक ।

बाबुराम कार्की

वराहक्षेत्र, साउन २ गते । पूर्वी पहाडी जिल्लाहरूमा यातायातको पहुँच पुगेसँगै कृषि उपजको बजारीकरण बढेको छ । पहाडी जिल्लाहरूमा सडक सुविधा पुगेसँगै उत्पादित कृषि उपजले सहज रूपमा बजार पाएका छन् ।  

केही वर्षअघिसम्म धनकुटाबाट मात्र धरान कृषि उपज बजारस्थलमा किसानले कृषि उपज ल्याउने गरेका थिए । अहिले सडक विस्तारसँगै खोटाङ, सङ्खुवासभा, भोजपुर, तेह्रथुमबाट समेत कृषि उपज आउने गरेको धरान कृषि उपज बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईले बताउनुभयो ।  पहाडी जिल्लाहरूमा उत्पादन भएका तरकारी, फलफूललगायत खसी, बाख्राहरू धरानस्थित कृषि उपज स्थलमा बिव्रmीवितरणका लागि ल्याउने गरिएको छ । सडक सञ्जालको विस्तारले पहाडी जिल्लाका किसान व्यावसायिक रूपमै तरकारी, फलफूल, खसी बाख्रापालनमा लागेका छन् । 

केही वर्षअघिसम्म पहाडमा उत्पादन हुने तरकारी र फलफूलहरू बाटो र बजारको समस्याले सहजै रूपमा बिक्री गर्न गाह्रो हुने गरेको भोजपुरका स्थानीय भानुभक्त कोइरालाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक यातायातको पहुँच बढेपछि पहाडमा उत्पादित कृषि उपज सहजै रूपमा बिक्रीका लागि तराई झार्ने गरिएको छ ।” 

पहाडी क्षेत्रमा सडकको पहुँच नहुँदासम्म उत्पादित फलफूल र तरकारी बारीमै कुहेर जाने गरेको थियो । बाटो र बजार नहुँदा उत्पादन गर्ने पहाडका उर्वर जग्गा बाँझै बस्थे भने पहाडको अर्गानिक कृषि उपज तराईमा महँगो मूल्यमा उपभोक्ताहरू किन्न बाध्य थिए । पहाडमा गाउँ गाउँमा बाटो पुगेसँगै उत्पादित मौसमी र बेमौसमी जातका तरकारी तथा फलफूल सुलभ मूल्यमा पाइन थालेको रामधुनी नगरपालिका–८ का पुष्पराज विष्ट बताउनुहुन्छ । 

कृषिजन्य उपज सहज रूपमा ढुवानी हुन थालेपछि कृषकले व्यावसायिक रूपमै खेती गर्न थालेका छन् । सडक विस्तारले पहाडी किसानको आम्दानीको स्रोत बढेको कृषि उपजस्थल धरानका प्रबन्धक भट्टराई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कृषि उपजहरू सहजै रूपमा बिक्री हुन थालेपछि किसान व्यावसायिक रूपमा खेती गर्न प्रोत्साहित भएका छन् ।  

पूर्वी पहाडमा उत्पादन भएका कृषि उपज तराईका सहरदेखि ग्रामीण बस्तीसम्म पुग्ने गरेको छ । व्यापारीले कृषि उपज पूर्वी तराईदेखि काठमाडौँसम्म पनि पु-याउने गरेका छन् । प्रबन्धक भट्टराईका अनुसार पहाडी ग्रामीण क्षेत्रमा उत्पादन भएका अदुवा अम्लिसो, तेजपात, अलैँची, बेसार, रिट्ठा, मजिटो, सुन्तला, बन्दाकोपी, फूलगोबी, नासपाती, टमाटर इत्यादि कृषि उपज भारतमा समेत निर्यात हुने गरेको छ । उत्पादित उपजहरू मुलुकबाहिर पनि निर्यात हुने हुँदा किसानले थप व्यवसायलाई विस्तार गर्दै लगेका छन् । 

किसानले उत्पादन गरेका उपज सहजै बिक्रीवितरण हुन थालेसँगै किसानले मौसम र बेमौसम जातका तरकारी फलफूलका बारेमा तालिमसमेत लिने गरेका भोजपुरका भानुभक्त कोइराला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “किसानले कुन मौसममा कस्तो जातको तरकारी र फलफूल लगाउँदा बढी उत्पादन लिन सकिन्छ । त्यही जातका उपज लगाउँदै आएका छन् ।” 

धरान कृषि उपज बजारस्थलका अनुसार औसत रूपमा धनकुटा जिल्लाबाट ५५ प्रतिशत, तेह्रथुम जिल्लाबाट १५ प्रतिशत, भोजपुर र खोटाङ जिल्लाबाट १० प्रतिशत, सुनसरी, मोरङ र उदयपुरका पहाडी क्षेत्रबाट १० प्रतिशत र सङ्खुवासभा, पाँचथरबाट पाँच प्रतिशत कृषि उपज धरान कृषि बजारमा आउने गरेको छ । 

पहाडी जिल्लाहरूबाट सिजन अनुसारका सुन्तला, नास्पाती कागती, जुनार, अम्बालगायतका फलफूल आउने गरेको छ । त्यस्तै अदुवा, टमाटर, फूलगोबी, बन्दाकोपी, क्याप्सिकम, अकबरे खुर्सानी, बेसार, साग, काँक्रा, स्कुस, बोडीलगायतका तरकारी आउने गरेका छन् । दलहन बालीका रहर, कालो दाल, गहत पहाडी जिल्लाबाटै आउने गरेका छन् । अलैँची, रिट्ठा, कुचो, मजिटो, मह, तरुल, रुद्राक्ष, मह, खसीबाख्रा, भेडा पहाडी जिल्लाबाटै आउने गरेको धरान कृषि उपज बजारस्थल कार्यालयले जनाएको छ ।