• १ साउन २०८१, मङ्गलबार

नेपालगञ्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन

blog

नेपालगञ्जस्थित भन्सार कार्यालय ।

गोविन्द शर्मा 

बाँके, साउन १ गते । चिनी आयात रोकिएपछि नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०।८१ मा लक्ष्य भन्दा न्यून राजस्व सङ्कलन गरेको छ । गत आवमा २८ अर्व ६६ करोड रुपियाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा १८ अर्व १५ करोड रुपियाँ मात्रै राजश्व सङ्कलन भएको भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । 

गत आवमा ६३.३४ प्रतिशत राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९।८० मा भन्सार लक्ष्य २९ अर्व ३२ करोड रुपियाँ रहेकोमा १८ अर्व १९ करोड ६९ लाख ७५ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । अघिल्लो आव भन्दा गत आवमा करिब चार करोड कम राजस्व सङ्कलन भएको छ ।  

अघिल्लो आवमा चिनी आयातबाट मात्रै करिब ९० करोड रुपियाँ सङ्कलन भएकोमा गत आवमा चिनीबाट शून्य राजस्व सङ्कलन भएको भन्सार प्रमुख विश्वकर्माले बताउनुभयो, "चिनीसँगै डिजेल, चामल, जुत्ताचप्पलको आयात घट्ता समग्रमा राजस्व सङ्कलनमा कमी आएको छ ।"

नेपालगञ्ज भन्सार कार्यालयबाट इन्धन, चामल, खाद्यान्न, फलाम लगायतका वस्तुको आयातबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क छ । नेपालगञ्ज नाकाबाट जडीबुटीलगायतका सामग्रीको निकासी हुने गरेको छ ।