• १३ साउन २०८१, आइतबार

मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

blog

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल । तस्बिरः राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, असार ३१ गते ।
 बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउनको पहिलो साता बागमती प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ ।

सत्ता साझेदार दलहरूसँग सोमबार यहाँ भएको छलफलपछि प्रदेश सभाबाट विश्वासको मत लिने निर्णयमा पुग्नुभएका मुख्यमन्त्री जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिनुहुने भएको हो ।

विश्वासको मत लिने प्रयोजनका लागि मुख्यमन्त्री मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सोमबार प्रदेश सभा सचिवालयमा पत्र प्राप्त भएको बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

उहाँका अनुसार साउन ६ गते आइतबार दिउँसो १ बजे विश्वासको मत लिने प्रयोजनका लागि समय व्यवस्थापन गरिदिन मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको छ ।

सत्ता गठबन्धनमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गत सोमबार बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्नुभएको हो ।

बागमती प्रदेशको १३ वटा मन्त्रालयमा नेकपा माओवादी केन्द्रका मुख्यमन्त्रीसहित चार मन्त्री, नेकपा एकीकृत समाजवादीका तीन र हाम्रो नेपाली पार्टीका एक जना मन्त्री रहेका छन् ।