• १ साउन २०८१, मङ्गलबार

कोरियाबाट फर्केकाका लागि पुुनः आवेदन खुला

blog

काठमाडौँ, असार ३१ गते । रोजगार अनुुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया गई तोकिएको समय (चार वर्ष १० महिना) मा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो ।

सो शाखाका अनुसार इपिएसमार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाले मात्रै आवेदन दिन पाउने छन् । त्यस्ता श्रमिकले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउने छन् ।

उत्पादनमूलक क्षेत्रमा फाराम भर्न चाहनेले फाराममा उल्लेख भएका आठ वटा समूहमध्ये जुन उपसमूहमा फाराम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित आठ वटा प्रश्नको उत्तर दिनुपर्ने छ । इपिएस शाखाले सार्वजनिक गरेको सूचना अनुसार यही साउन ७ देखि ११ गतेसम्म आवेदन दिन सकिने छ ।

परीक्षा असोज ८ गतेदेखि ११ गतेसम्म हुने छ । परीक्षा तालिका भने भदौ २८ गते मात्रै सार्वजनिक गरिने सो शाखाले जनाएको छ । सो शाखाका अनुसार परीक्षाको नतिजा भने असोज २१ गते प्रकाशन गरिने छ । 

नेपालले दक्षिण कोरियासँग गरेको समझदारीपत्र (एमओयु) अनुरूप इपिएसमार्फत वैधानिक तवरबाट श्रमिक पठाउँदै आएको छ ।