• १२ साउन २०८१, शनिबार

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र स्थापना

blog

गोकुल भुजेल

भोजपुर, असार ३० गते । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयकी राज्यमन्त्री सृजना राईले भोजपुरमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय उद्घाटन गर्नुभएको छ । यसअघि प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र सङ्खुवासभा, सम्पर्क केन्द्र भोजपुरका रूपमा सञ्चालित कार्यालयलाई रूपान्तरण गरी आज भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रूपमा कार्यालय उद्घाटन गरिएको हो । 

प्रदेश सरकारले सेवा विस्तारका क्रममा गत वैशाख २१ गते मुख्यमन्त्री केदार कार्की तथा मन्त्रीपरिषद्को क्याबिनेट बैठकले कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार जिल्लामा कार्यालय स्थापना गरेको कार्यालय प्रमुख सुन्दरलाल यादवले जानकारी दिनुभयो । विज्ञ केन्द्र सङ्खुवासभाका प्रमुख हिमालय पोखरेलका अनुसार कार्यालयले जिल्ला स्थित स्थानीय तहलाई पशुपन्छी चिकित्सा सेवा व्यवस्थापन, नस्ल सुधार सेवा, पशु आहारा गुणस्तर, नियमन, पशुपन्छी बिमा, स्थानीय चरन खर्क व्यवस्थापन, तथ्याङ्क सङ्कलन, बजार व्यवस्थापन, वधशाला व्यवस्थापन लगायत कार्य गर्नेछ । 

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री राईले जिल्लालाई पशुपन्छी तथा दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने योजना अनुसार कार्यालय स्थापना गरेको बताउनुभयो । उहाँले गाउँमा युवा रोजगार, व्यवसाय वृद्धि, बसाइसराइ नियन्त्रणका लागी कृषिमा लगानी आवश्यक रहेको भन्दै यसका लागी प्रदेश सरकार योजना नै बनाएर लागि परेको उल्लेख गर्नुभयो । 

त्यस्तै कार्यक्रममा बोल्दै अरुण गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले पशुपन्छीलाई लाग्ने रोग, महामारी तथा विपद्मा आवश्यक परामर्श तथा समन्वयको लागी भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र को महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । आफूहरूले कृषि तथा पशुपन्छीको विकास तथा कृषिमा आत्मनिर्भर हुन वृहत् योजना बनाएको र त्यसलाई पूर्णता दिन भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ठुलो टेवा पुग्ने अपेक्षा रहेको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । 

यता, जिल्लास्थित क्रियाशील राजनैतिक दल तथा सरोकारवाला निकायहरूले आगामी दिनमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले गुणस्तरीय सेवा प्रवाह गर्न कुनै पनि कसुर बाँकी राख्न नहुने उल्लेख गर्दै यसका लागी आफूहरूको निरन्तर साथ सहयोग रहने प्रतिबद्धता जाएर गरेका थिए ।