• १२ साउन २०८१, शनिबार

विपद प्रतिकार्यका लागि सहायता कक्ष स्थापना

blog

तस्बिर : रासस

खोटाङ, असार २६ गते । मनसुनजन्य विपद न्यूनीकरण एवम् प्रतिकार्यका लागि खोटाङमा जिल्ला विपद सहायता कक्ष स्थापना गरिएको छ । सम्भावित घटनाका पीडितको उद्धार र राहत वितरण प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय परिसरमा विपद सहायता कक्ष स्थापना गरिएको हो । 

मनसुनजन्य विपदमा परेकाको उद्धार र राहत वितरण प्रभावकारी बनाउन सहायता कक्षको भूमिका महत्वपूर्ण हुने जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । “विपद प्रतिकार्यका लागि समन्वय तथा सहजीकरण गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति बनाइएको छ । यो समितिले विपद्मा परेकाको उद्धार र राहत वितरण प्रभावकारी तथा व्यवस्थित गर्न भूमिका खेल्छ”, उहाँले भन्नुभयो ।  

जिल्ला विपद व्यवस्थापन समितिले सबै स्थानीय तहहरुमा स्थानीय विपद सहायता कक्ष स्थापना गरी सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । मनसुन अवधिभर विपद प्रतिकार्य, राहत वितरण र उद्धारका लागि सम्बन्धित निकाय, सरोकार भएका सबै पक्षलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको संयोजक कार्कीले जानकारी दिनुभयो । मुख्य राजमार्ग बाढीपहिरोको कारण अवरुद्ध हुन सक्ने हुँदा सम्बन्धित सडक आयोजनालाई सडक अवरुद्ध हुनासाथ तत्काल सञ्चालनमा ल्याउन तथा स्थानीय सडक सञ्चालन हुने अवस्थामा राख्न स्थानीय तहहरुलाई अनुरोध गरिएको छ ।

जिल्लामा हुनसक्ने मनसुनजन्य सम्भावित विपदका घटनालाई मध्यनजर गर्दै जिल्ला अस्पताल, जिल्ला आयुर्वेद अस्पताल, स्थानीय तहका अस्पताल तथा स्वास्थ्यचौकीलाई विपदजन्य उपचारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको समितिले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा मनसुनजन्य विपदअन्तर्गत बाढीबाट ८५ घरधुरीका तीन सय २० र पहिरोबाट चार सय ३९ घरधुरीका एक हजार सात सय ६१ जना उच्च जोखिममा रहेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले विपदजन्य घटना आइपरेमा तत्काल उद्धार गरेर राख्न सकिने सुरक्षित ठाउँसमेत पहिचान गरेको छ । जिल्लामा रहेका विद्यालय तथा सार्वजनिक भवनमा छ हजार आठ सय ५५ जनालाई राख्न सकिने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो । केही दिनदेखि लगातार वर्षा भए पनि जिल्लामा अहिलेसम्म ठूलो घटना घटेको छैन । अविरल वर्षाले ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडक अवरुद्ध भएपछि जिल्लाका स्थानीय तहहरु राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएका छन् । 

स्थानीय तहसँग जोडिएको सबै ग्रामीण सडक अहिलेसम्म कच्ची भएकोले समस्या भएको यातायात व्यवसायीको भनाइ छ । सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल-गाईघाट सडक पनि अवरुद्ध छ । राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोममार्ग भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गको ठाउँठाउँमा झरेको पहिरोले केही समय अवरुद्ध भएपनि अहिलेसम्म पूर्णरुपमा अवरुद्ध नभएको प्रनाउ खड्काले जानकारी दिनुभयो । रासस