• २० असोज २०८१, आइतबार

अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन

blog

पहिरोका कारण अवरुद्ध सडक । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा 

कालीकोट, असार २४ गते । तीन दिन यता लगातार परेको पानीका कारणले अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन । राजमार्गको कालीकोट खण्डमा पाँच ठाउँमा आएको ठुलो पहिरो हटाउनेक्रम जारी रहे पनि राजमार्ग खुलाउन  नसकिएको हो । 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी अर्जुन केसीले राजमार्गका अन्य पहिरो हटाउन सफल भए पनि एसमोडमा आएको पहिरो पञ्छाउन केही समय लाग्ने बताउनुभयो । उहाँले तीन वटा स्काभेटर प्रयोग गरेर एसमोडको पहिरो पञ्छाउनेक्रम जारी रहेकाले आजै साँझसम्म सडक सुचारु हुन सक्ने विश्वास व्यक्त गर्नुभयो ।  

पानी पुनः परेमा थप पहिरो खस्ने खतरा रहेको पनि उहाँले सुनाउनुभयो । हामीले हिजो करिव आधा पहिरो पञ्छाएका थियौँ, तर राति पुनः चटा्न फुटेर सडकमा थुप्रो पर्दा आज थप समय लाग्ने उहाँको भनाइ छ । 

उहाँले विपद्को बैठक जारी रहेकाले बिस्फोटक पदार्थ प्रयोग गर्नेकि भन्ने बिषयमा छलफल हुने गरेको बताउनुभयो । कालीकोट सदरमुकाम मान्मदेखि सुर्खेततर्फको सडक अबरोध भए पनि मान्म नाग्म जुम्लाखण्ड भने १० बजेटबाट सञ्चालनमा आएको छ । 

कालीकोटको पिली, टिमुरे, गाल्जे लगायतका ठाउँमा झरेको पहिरो पञ्छाएपछि मान्म नाग्म, जुम्ला सडकखण्ड सुचारु भएको हो । उक्त सडक खुलेपछि मान्म, मोल्फा, पिलि, सेरावाडामा अलपत्र परेका यातायातका साधन यात्रु र मालबाहक गाडी गन्तब्यतर्फ गएका छन । 

नाग्ममा रोकिएका यातायातका साधन पनि सुर्खेततर्फ हिँडेका छन् । नाग्मदेखि मान्म पुग्न चारदेखि पाँच घण्टा समय लाग्ने भएकाले त्यहाँसम्म एसमोडको पहिरो पनि एकतर्फी खुलाउन सकिन्छ भनेर प्रयास जारी रहेको प्रहरीको भनाइ छ ।