• २० असोज २०८१, आइतबार

कर्णाली नदीमा जलसतह चेतावनी तह नजिक

blog

कर्णाली नदीस्थित चिसापानी जलमापन केन्द्र ।

अविनाश चौधरी

धनगढी, असार २३ गते । कर्णाली नदीमा जलसतह चेतावनी तह नजिक पुगेको छ । अविरल वर्षाका कारण सो नदीमा पानीको सतह बढ्दो क्रममा रहेको चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार अपराह्न ५ बजे कर्णालीमा जलसतह ९.६५ मिटर पुगेको छ । १० मिटर चेतावनी तह हो । यसैगरी, कर्णाली नदीको चिसापानी मापन केन्द्रमा पानीको सतह १०.८ मिटर पुग्नु खतरा मानिन्छ । आइतबार कर्णाली नदीको बहाव बढ्दो क्रममा रहेको गुरुङले बताउनुभयो । 

यस्तै, खुटिया नदीको मुडीभर मापन केन्द्रमा पनि जलसतह बढेको छ । त्यहाँ जलसतह बढेपछि नदी आसपासका स्थानीयलाई सतर्क पारिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार अविरल वर्षाका कारण साना ठुला सबै नदीनालामा पानीको सतह बढ्दै छ । 

यसैबिच, घर डुबानमा परे पछि भजनी नगरपालिका–५ नयाँ बस्तीका स्थानीय हुलाकी राजमार्गमा आएको जनाइएको छ । करिब १९० परिवार घर बस्न नसकेर राजमार्गमा आइपुगेको जोशीले जनाउनुभयो । भजनी नगरपालिकाका विपत् स्रोत व्यक्ति विष्णु न्यौपानेले भने केही परिवार सडकमा आएको र अरू पनि आउने क्रममा रहेको जानकारी दिनुभयो ।