• १९ असोज २०८१, शनिबार

बिपी र अरनिको राजमार्गको विभिन्न खण्ड अवरुद्ध

blog

अविरल वर्षाका कारण विपी राजमार्गको कालढुङ्गामा फसेको सवारी साधन । तस्विरः जिप्रका काभ्रेपलाञ्चोक

केदार तिमल्सिना 

बनेपा, असार २२ गते । गएरातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी जिल्ला जोड्ने बिपी राजमार्गको विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले वर्षाका कारण बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डको विभिन्न खहरे खोलामा लेदो आउँदा राजमार्ग अवरुद्ध भएको जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले वर्षाका कारण रोशी गाउँपालिका –८ को नार्के, चारसयबेँसी, वडा नम्बर–९ स्थित मङ्गल जनविजय मावि अगाडि वडा नम्बर– ११ कालढुङ्गा र  वडा नम्बर –१२ माम्तिस्थित खहरे खोलाबाट लेदो आई राजमार्ग अवरुद्ध भएको बताउनुभयो । 

उहाँले अवरुद्ध सडक खुलाउन इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षकको कमाण्डमा टोली खटाई सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । प्रहरी नायव उपरीक्षक श्रेष्ठले अवरुद्ध सडकमध्ये रोशी गाउँपालिका –७ लासकोटस्थित अवरुद्ध सडक एक्स्काभेटर र जेसिभीको सहायताले एकतर्फी खुलाइएको बताउनुभयो । 

यसैबिच वर्षाका कारण अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका –८ स्थित ५२ किलोमा खहरेखोलामा आएको लेदोको कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउन स्थानीय तहसँग सहकार्य गरेर जेसिभीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।