• १९ असोज २०८१, शनिबार

बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध

blog

अविरल वर्षासँगै मध्य पहाडी राजमार्गको अक्करेभिरमा खसेको पहिरो । तस्बिर ः बाबुराम

बाबुराम देवकोटा

सिन्धुलीमाढी, असार २२ गते । शनिवार बिहानदेखि परेको वर्षासँगै बिपी राजमार्ग र मध्य पहाडी लोकमार्ग अवरुद्ध बनेको छ । 

बिपी राजमार्गको सुनकोसी गाउँपालिका–२ कमेरे फाँटमा सडकमा माथिबाट लेदो सहित आएको पहिरो सडकमा थुप्रिदा यातायात अवरुद्ध  भएको हो । त्यस्तै मध्य पहाडी लोकमार्गको गोलन्जोर गाउँपालिका–६ स्थित अक्करे भिरमा माथिबाट ढुङ्गा, माटो, लेदो सहितको पहिरो सडका थुप्रिदा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अनिलकुमार खडकाले दुबैतर्फ यातायात अवरुद्ध भएको र उक्त स्थानमा पहिरोमा फसेका सवारी साधन उद्धार गरी सुरक्षित ठाउँमा राखिएको बताउनुभयो ।

अवरुद्ध दुवै राजमार्ग पुनः सञ्चालन गर्न प्रहरीले स्थानीय तहसँग समन्वय गरी जेसिविद्वारा पहिरो पन्छ्याउने काम भई रहेको उहाँले जानकारी दिनु भयो । त्यस्तै मध्य पहाडी लोकमार्ग अन्तर्गत नै सिन्धुलीको फिक्कल गाउँपालिका–६ स्थित सोखुखोलामा बाढीका कारण यातायात अवरुद्ध भएको प्रहरीको भनाई छ ।

बिपी राजमार्ग र मध्य पहाडी लोकमार्ग अवरुद्ध हुदा पुर्वि तराईका जिल्ला सहित  सिन्धुली जिल्लाको पुर्वि पहाडी क्षेत्रका बासिन्दा सहित ओखलढुङ्गा, सोलुखुम्बु, भोजपुर, खोटाङ र उदयपुर जिल्लाबाट मध्य पहाडी राजमार्ग भएर राजधानी काठमाडौँ आवतजावत गर्ने यात्रु अलपत्र परेका छन् ।