• १९ असोज २०८१, शनिबार

निदाउँदैनन् हेवा र तमोर गडतीरका बासिन्दा

blog

राधा लुइँटेल

फिदिम, असार २२ गते । फिदिम नगरपालिका–४ की लक्ष्मीमाया थापा एक महिनादेखि निदाउनुभएको छैन । मौसम बदलिएर मेघगर्जन हुनासाथ उहाँको निद्रा हराउँछ । गत वर्ष असार २ गते हेवामा आएको बाढीले मच्चाएको वितण्डा मानसपटलमा फनफनी घुम्छ ।

थापा भन्नुहुन्छ, “२०८० सालको असार २ गते दिउँसोसम्म यस क्षेत्रमा चर्को घाम थियो । मध्यरातमा मुसलधारे पानी दर्कियो, बाढी आयो, नजिकै रहेको माउन्टेन हाइड्रोमा कार्यरत दिलकुमार तामाङ, सन्जोग लोवा र हेवा खोला गडतीरमा गिट्टी कुटेर जीविकोपार्जन गर्ने राजकुमार राईको ज्यान लियो । अहिले पनि आकाश गर्जिन थाल्यो कि त्यही दिन दोहोरिएला कि ? भनेर पीर लाग्छ ।” 

बाढीले थापाको खेतमा पाकिसकेका मकै, धान र खोलाबाट निकालेर बेच्न लागेका सयौँ ट्याक्टर गिट्टी पनि बगाइदियो । उहाँ गुनासो गर्नुहुन्छ, “बाढी आएको एक वर्ष बित्दा पनि कतैबाट राहत र क्षतिपूर्ति आएन । फेरि बर्खा लागिसक्यो । यस पटक के के हुने हो !”

हेवा खोला गडतीरमै खेती गरेर जीविकोपार्जन गरिरहेका रेशम कटुवालको घर त्यही रातको बाढीले बगायो, पाकिसकेका मकै, पाक्न लागेको हिउँदे धान र खेत सबै बगरमा परिणत भयो । बाढीले घरबारविहीन भएका रेशम नजिकैको थापाटारमा डेरा लिएर बस्नुभएको छ ।

बाढीले रेशमको घरसँगै फिदिम र भारपालाई जोड्ने मेची राजमार्गको हेवा खोला पुल पनि बगाएको थियो । रेशम भन्नुहुन्छ, “पुल बगेपछि हेवा खोलामा आउने मन्त्री, सांसद र सरकारी अधिकारीले पर्याप्त क्षतिपूर्ति र राहत दिने आश्वासन दिए तर आश्वासनबाहेक केही पाएनन् । त्यसैले राज्यसँग अब त आस पनि लाग्न छोड्यो ।” पाँचथरको याङवाराक, फालेलुङ गाउँपालिकासहित हेवा र तमोर नदी गडतीरले छोएका फिदिम र हिलिहाङसहित पाँचथरका अधिकांश स्थल बाढीपहिरोको जोखिममा छन् । यहाँ बर्सेनि जाने ठुलासाना बाढीपहिरोले जनधनको क्षति पु¥याउँदै आएको छ ।

गत वर्ष असार २ गतेकै बाढीले फिदिम–४, थापाटारका आशिष र एलिसा माझीलाई बगाएर ज्यान लिएको थियो । तमोर नदी गडतीरका माझी बस्ती र फिदिम–४ को थापाटारका बस्ती बाढीको उच्च जोखिममा छन् ।  हेवा खोलाघाटकी सङ्गीता भारती गत वर्षको जस्तै बाढी आउला कि ? भनेर त्रासै त्रासमा दिनरात काटिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पोहोर साल आएको बाढीमा घर पुरियो । नजिकैको हेवा खोलामा बगेर छिमकीले ज्यान गुमाए । यत्तिका घटना भए पनि ठाउँ छाड्ने विकल्प भएन । बर्खा कटाइएला नकटाइएला थाहा छैन । गडतीरका बासिन्दालाई न भोक न निन्द्रा ।”

गत वर्ष गएको बाढीमा परी पाँचथरका छ जनाले ज्यान गुमाए । जिल्लाभर ३१४ घरका ६०८ जना विस्थापित भए । आठ वटा पक्की र नौ वटा झोलुङ्गे गरी १७ वटा पुल बगे । बगेकामध्ये मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्डमा पर्ने हेवा खोलामा सङ्घीय सरकारले बेलिब्रिज बनाए पनि फालेलुङ र याङवाराकका खोलामा पुल बन्ने पत्तो छैन ।

ती खोलामा स्थानीयको सहयोग लिएर गाउँपालिकाहरूले डाइभर्सन गरी सवारी आवागमन गराउँदै आएका छन् । फालेलुङ गाउँपालिका अध्यक्ष वीरविव्रmम थाम्सुहाङ भन्नुहुन्छ, “हिउँदभर ती डाइभर्सनले राम्रै काम गरे, बर्सातमा के हुने हो टुङ्गो छैन । हामीसँग बजेटको सीमितता छ । पुल बनाउन सङ्घीय र प्रदेश सरकारलाई पटक पटक ताकिता गरिरहेका छौँ, सुनुवाइ नै भएन ।”

यो वर्ष पनि हेवा र तमोर नदी आसपासमा बर्खामा जुनसुकै बेला पनि बाढीपहिरो आउने खतरा रहेकाले सतर्क रहन भन्दै जिल्ला प्रशासन कार्यालय पाँचथरले सार्वजनिक सूचना जारी गरेको छ ।

यद्यपि सो कार्यालयसँग विपत्बाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि पर्याप्त स्रोतसाधन छैन । विपत् पूूर्वतयारीका लागि छिमेकी जिल्ला, स्थानीय तह, सुरक्षा निकाय र रेडव्रmससहितका सङ्घ संस्थासँग मिलेर विपत् प्रतिकार्य योजना बनाएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला बताउनुहुन्छ । कोइरालाले भन्नुभयो, “सामान्य घटनामा राहत र उद्धारमा आवश्यक पर्ने सामग्री हामीसँग छ, थप जनशक्ति र वस्तु उपलब्ध गराइदिन उपल्लो तहमा अनुरोध गरेका छौँ ।”