• २४ असार २०८१, सोमबार

कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध

blog

कालीगण्डकी करिडोरमा खसेको पहिरो । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, असार २१ गते ।
कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ । केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण करिडोरको हर्मिचौर पुर्तिघाट सडक खण्डका विभिन्न स्थानहरुमा पहिरो खसेर सडक अवरुद्ध भएको कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मञ्जु दर्लामीले जानकारी दिनुभयो ।

शुक्रबार सो सडक खण्डको गरगरे, मुल्क, पातीखोला र बरल्वामा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको उहाँको भनाइ छ । निरन्तर रुपमा पानी परिरहेकाले पहिरो पन्छाउन नसकिएको दर्लामीले बताउनुभयो । पानी परिरहेको समयमा डोजरको प्रयोग गर्दा झन पहिरो खस्न सक्ने र जोखिम बढी हुने भएकाले पानी पर्न रोकिएपछि मात्र पहिरो पन्छाइने उहाँले बताउनुभयो ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले निरन्तर पानी परिरहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गर्नुभएको छ ।  करिडोरमा ढुङ्गासँगै पहिरो खस्ने जोखिम बढी भएकाले यात्रा नगर्न सामाजिक सञ्जालमार्फत आग्रह गर्नुभएको छ ।

निरन्तर परेको वर्षाका कारण जिल्लाका मुख्य सडकहरु कालीगण्डकी करिडोरबाहेक अन्य सडकहरुमा समस्या नभएको प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो । ग्रामीण स्तरका भित्री कच्ची सडकहरु भने अवरुद्ध भएका छन् ।

वर्षायामको समयमा बाढी पहिरो आउन सक्ने भएकाले चनाखो बन्न प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले गुल्मेलीहरुलाई आग्रह गर्नुभएको छ ।  कुनै समस्या परेमा  तत्काल नजिकको प्रहरी कार्यालय वा प्रशासनमा खबर गर्नका लागि आग्रह गर्दै विपत्तिमा उद्धारका लागि सुरक्षाको टोली तयारी अवस्थामा रहेको उहाँको भनाइ छ ।