• २४ असार २०८१, सोमबार

तटबन्ध निर्माण नहुँदा बाढी पस्ने त्रासमा स्थानीय

blog

भत्किएको तटबन्ध पुनःनिर्माण नहुँदा गाउँमा बाढी पस्ने त्रास । तस्विरः सिराज खान

सिराज खान 

नेपालगन्ज, असार २१ गते । तटबन्ध निर्माण गर्न सरकारसँग बजेट माग गर्दै पटक पटक हारगुहार गरे पनि सुनुवाई नहुँदा बाढी पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सात गाउँका स्थानीय चिन्तामा छन् । 

वर्षा शुरु भएर राप्ती नदीमा पानीको सतह बढ्दै जाँदा तटबन्ध भत्किएको ठाउँबाट बाढी गाउँमा पस्ने त्रासले गर्दा उनीहरु रातभर जाग्राम बस्न बाध्य भएका छन् । राप्तीसोनारी गाउँपालिका –७ स्थित खल्ला झगडियामा राप्ती नदीमा निर्माण गरिएको तटबन्ध गत वर्षकै बाढीले बगाए पनि हालसम्म बजेट अभावले निर्माण नगरिँदा सो क्षेत्र वरिपरिका सात गाउँका ठुलो संख्याका स्थानीय डरले रातभर सुत्न नपाएको बताउनुहुन्छ ।  

राप्ती नदीमा पानीको बहाव धेरै बढी सकेको र कुनै पनि बेला भत्किएको तटबन्ध तोडेर नदी गाउँहरुतिर पस्ने त्रासकाबिच सात गाउँका स्थानीय रातदिन बिताउन बाध्य रहेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । 

उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको पहलमा तीन–चार पटक सो ठाउँमा पुगेर तटबन्ध निर्माणको प्रयास गरिए पनि बजेटको अभावमा निर्माण नभएको र अहिले त बाढीले काम गर्ने अवस्था नै नरहेको बताउनुभयो । 

अध्यक्ष शाहले थप्नुभयो, ‘अब सो क्षेत्रका ५० हजार बढी जनता बाढीको पानी गाउँमा पस्ने प्रतिक्षा गर्न बाध्य छन्, उनीहरुसँग कुनै विकल्प छैन । नदीमा पानी बढ्दै जाँदा वरिपरिका गाउँमा डर र त्रास पनि बढ्दै गएको छ ।’

उहाँका अनुसार तटबन्ध निर्माण नगरिँदा राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका देउपुरा, पिप्रहवा, खल्लाझगडिया, गेदुवा, गँगापुर, सोनबर्षा खुदरबेटवा र कडुवा लगायतका गाउँका ५० हजार जनसंख्या बाढीको अत्यधिक जोखिममा छ । 

स्थानीय अगुवा दुर्गाप्रसाद पाण्डेले तटबन्ध मर्मत गर्न नसकेको सरकारले अब सो क्षेत्रका स्थानीयलाई कसरी सुरक्षा दिने हो त्यो हेर्न बाँकी रहेको बताउनुभयो । उहाँले सानो रकमका लागि यति धेरै जनतालाई जोखिममा पार्नु कुनै पनि हालतमा उचित नभएको बताउनुभयो ।  

वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारुले तटबन्ध भत्किएदेखि नै पुनःनिर्माण गराउन निकै दौडधुप गरे पनि सुनुवाइ नहुँदा धेरै जनता जोखिममा परेको बताउनुभयो । उता, जनताको तटबन्ध कार्यक्रम लमही कार्यालयका सबडिभिजनल इन्जिनियर राजन श्रेष्ठले बजेटको अभावले तटबन्ध मर्मत गर्न नसकिएको जनाउँदै हाल आएर केही बैकल्पिक उपाय अपनाउन खोज्दा नदीमा पानीको बहाव धेरै बढेर बाढीको अवस्था भएकाले केही गर्न नसकिएको बताउनुभयो । 

उहाँले अब पानी नघटेसम्म चाहेर पनि केही गर्न सकिने अवस्था नरहेको जनाउँदै स्थानीयले आफ्नो सुरक्षा आफै गर्नुपर्ने बताउनुभयो । भत्किएको २८० मिटर तटबन्ध निर्माणका लागि ६ करोड रुपियाँको बजेट स्टिमेट बनाएर धेरै पहिले पठाइए पनि बजेट नआउँदा काम नभएको जनताको तटबन्ध कार्यक्रम लमही कार्यालयले जनाएको छ ।