• २४ असार २०८१, सोमबार

मधेशमा खानेपानीको समस्या समाधान गर्न दातृ निकायसँग छलफल भइरहेको छ : अर्थमन्त्री पुन

blog

अर्थमन्त्री वर्षमान पुन राष्ट्रिय सभा बैठकमा खानेपानीलगायतका विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिनुहुँदै । तस्बिर : केशब गुरुङ

काठमाडौँ, असार २१ गचे । अर्थमन्त्री वर्षमान पुनले तराई मधेशमा देखिएको खानेपानीको समस्या तत्काल समाधानका लागि दातृ निकायहरुसँग छलफल भइरहेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट खानेपानीलगायतका विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।

अर्थमन्त्री पुनले खानेपानीसँग सम्बन्धित अधूरा र अपूरा आयोजनाहरु पूरा गरेर तराई मधेशमा देखिएको खानेपानीको समस्या समाधान गर्न सकिने भएकाले त्यसका लागि दातृ निकायहरुसँग सहयोगका लागि छलफल भइरहेको बताउनुभयो । उहाँले मधेश प्रदेशका सबै जिल्लाहरुमा देखिएको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि समाधानका लागि सुनकोशी कमला तथा पश्चिमका जिल्लाहरुका लागि नारायणी चितवन र भेरी बबई कोहलपुरमा खानेपानी वितरण गर्नेगरी थोक वितरणका लागि छलफल शुरु गरिएको पनि बताउनुभयो ।

मन्त्री पुनले आम नागरिकलाई खानेपानीमा पहुँच पुर्‍याउने दायित्व सरकारको भएकाले सो काममा सरकारले विशेष ध्यान दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘‘तराई मधेशमा हाल देखिएको खानेपानीको समस्या तत्काल समाधानका लागि अधुरा र अपूरा खानेपानी आयोजनाहरुको एकीन गरी सहयोगका लागि दात्रृ निकायहरुसँग छलफल भइरहेको छ  । मधेश प्रदेशमा भूमिगत पानीको म्यापिङका लागि एशीयाली विकास बैंकले सहयोग गर्ने जानकारी गराएको छ । यसबाट तराई मधेसमा भूमिगत पानी र यसको गुणस्तर सुधारमा यकीन हुनेछ । मधेस प्रदेशका सबै जिल्लाहरुमा देखिएको खानेपानी समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्नका लागि सुनकोशी कमला तथा पश्चिमका जिल्लाहरुका लागि नारायणी चितवन र भेरी बबई कोहलपुरमा खानेपानी वितरण गर्ने गरी थोक वितरणका लागि आगामी आर्थिक वर्षबाट सुरु गरिनेछ । सबै नागरिकलाई खानेपानीमा पहुँच पुर्‍याउने नै हो ।’’

मन्त्री पुनले सिमित स्रोतका कारण सबै खानेपानीका आयोेजनाहरुको काम अघि बढाउने सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो ।