• २३ असार २०८१, आइतबार

बर्दिबासमा डेंगुबाट बच्न सुरक्षात्मक अभियान सुरु

blog

रवीन्द्र उप्रेती

बर्दीबास, असार २० गते । बर्दिबासमा डेंगुबाट बच्न सुरक्षात्मक अभियान सुरु गरिएको छ । किटजन्य रोगको सर्वाधिक जोखिममा रहेको बर्दिबासमा यसको सुरक्षा सतर्कता र सचेतनाका लागि अभियान सुरु गरिएको हो । 

स्वास्थ्यकर्मीका अनुसार भौगोलिक रूपले धनुषा र सर्लाहीसँग जोडिएको बर्दिबास डेंग लगायत किटजन्य रोगको ‘उच्च जोखिम’ मा छ । ०७४ सालको असोज तेस्रो साता बर्दिबासमा पहिलोपल्ट देखा परेको डेंगुबाट महिना दिनको अवधिमा ८ सय ४७ जना सङ्क्रमित भएका थिए । त्यसयता हरेक वर्ष नगर क्षेत्रमा डेङ्गुको साना ठुला प्रकोप देखा परेका छन् । 

गत वर्ष (०८० साल) पनि नगर क्षेत्रका २०९ जनामा डेंगुको सङ्क्रमण देखिएको बर्दिबास नगर स्वास्थ्य शाखाका संयोजक सुरेश पासवानले जनाउनुभयो । यस भेगमा मलेरिया, कालाजार र चिकेनगुनियाको सङ्क्रमण पनि देखा पर्ने गरेकोले यो पटक समयमै सचेतना कार्यक्रम सुरु गरेको हो  । 

वर्षातको समय किटजन्य रोग फैलने मौसम भए पनि यो पटक बर्दिबासमा डेंगु लगायतका रोग अहिलेसम्म देखा परेको छैन । सकेसम्म यस्ता रोग लाग्नै नदिने र लागे पनि फैलिन नदिन नगर क्षेत्रमा सचेतना र पूर्व सतर्कता अभियान सञ्चालन गरिएको पासवानको भनाइ छ । 

वर्षायाम सुरु भएदेखि नगरका स्वास्थ्यकर्मीलाई सतर्क अवस्थामा राखिएको छ । पासवानका अनुसार यी रोगका बारेमा प्रचारप्रसार, सरसफाइ, रोग फैलाउन लामखुट्टेको वास स्थान नष्ट गर्न सर्च एण्ड डिस्ट्रवई अभियान सुरु गरिएको हो । अभियानलाई प्रभावकारी बनाउन नगर क्षेत्रका १४ वटै वडामा रहेका २१ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र सरोकारवाला गरी ३० जनालाई बिहीबार एक दिने अभिमुखीकरण तालिम दिइएको छ । 

तालिमका सहभागीलाई डेंगु, कालाजार, मलेरिया, चिकन गुनिया र स्क्रवटाइफस जस्ता किटजन्य रोगको विविध पक्षका वारेका जानकारी गराइएको छ । यसका साथै आ आफ्ना क्षेत्रमा यी रोगबारे निगरानी र सतर्कता बढाउन तथा सरसफाइ, प्रचारप्रसार लगायतका चेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको नगर स्वास्थ्य शाखाका सह संयोजक रामबाबु यादवले जनाउनुभयो ।  

अभियान अन्तर्गत राजमार्ग क्षेत्रले ओगटेका बर्दिबासका १, २, ३ र १४ नं वडामा यसै साता लामखुट्टे विरुद्धको स्प्रे गर्ने सम्पूर्ण तयारी गरिएको नगर स्वास्थ्य सह संयोजक यादवले जनाउनुभयो । बजार एरियामा पर्ने यी वडा सबैभन्दा बढी प्रदूषित र डेंगुको सर्वाधिक जोखिममा रहेका क्षेत्र हुन् ।