• १० मंसिर २०८१, सोमबार

‘सङ्गीत सिक्न कार्पेट डेलिभरी गरेँ’

blog

गोरखापत्रसँग कुराकानी गर्नुहुँदै नेपाल आइडल करण परियार। तस्बिर:सागर बस्नेत

बर्दिया पदनाका करण परियारको दैनिकी बदलिएको छ । सानैदेखि सङ्गीतमा रुचि राख्ने करणले काठमाडौँमा कार्पेट बोक्दाबोक्दै नेपाल आइडल सिजन–५ मा अडिसन दिन पुग्नुभएको थियो । कार्पेट बोक्ने दैनिकसँग जुध्दै नेपाल आइडलको शीर्ष विजेता बनेपछि भेटघाट, रेकर्डिङ, सेल्फीमा दिन बदलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट गिटार उपहार पाउनुलाई जीवनकै अविस्मरणीय क्षण मान्ने करणले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट्ने मौका पाए । नेता ओलीले करणलाई सारङ्गी उपहार दिए । प्रधानमन्त्री प्रचण्ड र नेता ओलीबाट प्राप्त उपहार र शुभकामनाका शब्दले करण उत्साहित हुनुहुन्छ । प्रस्तुत छ नेपाल आइडल करण परियारसँग गोरखापत्रका सुकृत नेपाल र केशब गुरुङले  गर्नुभएको कुराकानी :

अबको योजना के छ ?

जिम्मेवारी झन् थपिएका छन् । आफ्नो काममा अझ बढी मेहनत गर्ने छु । गीत रेकर्डिङको तयारी भइरहेको छ । न्ह्यु वज्राचार्यसँग दुई वटा गीत रेकर्ड गरेको छु । अर्जुन पोखरेल, सिडी विजय, लेखु सहयात्रीलगायतसँग गीत रेकर्डिङ गराएँ । अब सङ्गीतलाई नै निरन्तरता दिँदै जाने हो ।

नेपाल आइडल हुँदा र नहुँदा जीवनमा के फरक पाउनुभयो ? 

हल्का व्यस्त व्यस्त छु । धेरै कुरामा परिवर्तन आउने रहेछ । म नेपाल आइडल नहुँदा दर्शकको नजरमा खासै परेको थिइनँ । मलाई कसैले पनि चिन्दैन्थ्यो । नेपाल आइडल जितेँ संसारले मलाई चिन्यो । म विश्वभरकै मान्छेको आँखामा परेँ । एकदमै खुसी लागेको छ । बिल्कुलै फरक तथा नयाँ महसुस भइरहेको छ ।

नेपाल आइडलसम्मको यात्रा कसरी तय भयो ? 

बाह्रवैध नगरपालिका–४, पदना मेरो घर हो । बुवाआमा लुगा सिलाउने काम गर्नुहुन्छ । बाल्यकालदेखि नै सङ्गीतमा मलाई रुचि थियो । स्कुलमा पनि गीत गाउँथेँ । धेरैले मलाई तिमी पछि राम्रो गायक बन्छौ भन्ने गर्नुहुन्थ्यो । मोबाइलमा सुनेकै भरमा गीत गाउँथेँ । त्यो समय मलाई सङ्गीतको खासै ज्ञान पनि थिएन । १२ कक्षाको पढाइ सकेपछि काठमाडौँ आएँ र कृष्ण केसीसँग सङ्गीत सिक्न थालेँ । उहाँले नै एक पटक नेपाल आइडलमा अडिसन देऊ न त भनेर सल्लाह दिनुभयो । त्यसपछि आइडलको यात्रा सुरु भएको हो । 

सङ्गीतमा लाग्न के कस्तो सङ्घर्ष गर्नु प¥यो ? 

काठमाडौँ मेरा लागि नौलो थिएन । पहिला पनि म यहाँ आइसकेको थिएँ । सङ्गीत त सिक्ने भनियो तर सिक्न पनि त पैसा चाहियो । त्यसमाथि काठमाडौँ सहरमा पैसाबिना केही हुन्छ भनेर नसोचे पनि हुन्छ । सङ्गीत सिक्नकै लागि कार्पेट डेलिभरीको काम थालेँ । काम गरेबापत खान, बस्न र सङ्गीत सिक्न पुग्ने पारिश्रमिक पाउँथेँ । फेरि यो काम खासै गाह्रो पनि थिएन । अर्डर अनुसार घर घरमा कार्पेट डेलिभरी गर्ने मात्र हो । 

आज नेपाल आइडल हुँदा कस्तो लाग्छ ? 

मैले यो कतै सोचेको थिइनँ । म आज यो ठाउँमा पुग्छु भनेर कल्पनासमेत गरेको थिइनँ । धेरैले मलाई यो तिम्रो मेहनतको नै फल हो भन्ने गर्नुहुन्छ । मसँगै काम गर्ने मेरो साथीले तिमीलाई भाग्यले पनि साथ दिएको हो भनेर भन्नुहुन्छ । फाइनलसम्म पुग्दा कतै कतै म आइडल बन्छु कि भन्ने महसुस गर्थें तर भाग्यको कुरा हो जे पनि हुन सक्छ भन्ने पनि थियो ।