• २१ असार २०८१, शुक्रबार

गृहमन्त्रीविरुद्धको रिट हेर्दाहेर्दैमा

blog

काठमाडौँ, असार १९ गते । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्धको रिटलाई हेर्दाहेर्दैमा राखेको छ । गृहमन्त्री लामिछानेविरुद्ध कुनै पनि निकायमा उजुरी/जाहेरी तथा अनुसन्धान र अभियोजन नरहेको जानकारीपत्र बदरको मागसहितको रिटलाई अदालतले हेर्दाहेर्दैमा राखेको हो । 

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको संयुक्त इजलासले रिट हेर्दाहेर्दैमा राखेको हो । सुनुवाइ बुधबार पनि जारी रहने छ । बुधबार निवेदकका तर्फबाट दुई कानुन व्यवसायीले जवाफ दिएपछि अदालतले आदेश गर्ने छ । 

पत्र बदरको माग गर्दै सर्वोच्चमा जेठ १४ गते रिट पेस भएको थियो । सुरुमा दरपिठ भएको रिट न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले दर्ता आदेश गरेको थियो । रिट दर्तापछि प्रारम्भिक सुनुवाइमा न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले दुवै पक्षलाई अन्तरिम छलफलका लागि बोलाएको थियो । 

अदालतले गृहमन्त्री लामिछानेविरुद्ध प्रहरीमा जाहेरी दर्ता भए वा नभएको जानकारी पठाउन कास्की प्रहरीलाई पत्राचार गरेको थियो । यस्तै रुपन्देहीको सुप्रिम सहकारीको ठगी मुद्दाको मिसिल पनि अदालतले झिकाएको थियो । सबै कागजात प्राप्त भएपछि अदालतले रिटलाई हेर्दाहेर्दैमा सुनुवाइ गरिरहेको छ ।