• २० असार २०८१, बिहिबार

नारायणीमा तटबन्ध ठेक्का,काम गर्दा पनि भएन भुक्तानी

blog

शालिग्राम नेपाल 

चितवन, असार १८ गते । नारायणी नदी नियन्त्रणका लागि भइराखेको तटबन्धको कामलाई चालु आर्थिक वर्षमा बजेट अभाव भएको भन्दै नारायणी नदी व्यवस्थापन कार्यालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । 

निर्माण कम्पनीले आफ्नो लगानीमा तटबन्धको काम गरेको तर कार्यालयले बजेट दिन नसक्दा समस्या आएको सो कार्यालयका प्रमुख मनोहरकुमार साहले जानकारी दिनुभयो । चालु आवको वैशाख र असारको पहिलो हप्ता गरेर एक अर्ब तीन करोड ९६ लाख रुपियाँ भुक्तानी दिन बाँकी भएकाले अर्थ मन्त्रालयसँग माग गरेको उहाँले बताउनुभयो । 

“काम छिटो सम्पन्न गर्नुपर्ने छ, उहाँले भन्नुभयो, निर्माण कम्पनीलाई पैसा दिन सकिएको छैन, हामी ज्यादै दबाबमा छौँ ।” ठेकेदारले आफ्नो घर बैङ्कमा धितो राखेर काम गरेको तर कार्यालयले सकिएको कामको पैसा दिन नसकेको कार्यालय प्रमुख साहले बताउनुभयो । उहाँका अनुसार चालु आवको वैशाख महिनामा ४२ करोड ४० लाख रुपियाँको बिल आएको थियो त्यो भुक्तानी दिनु पर्ने छ । त्यस्तै गरी असार महिनामा ६१ करोड ५६ लाख ४५ हजार रुपियाँको बिल आएको छ । दुवै गरेर एक अर्ब ३ करोड ९६ लाख रुपियाँ भुक्तानी दिनुपर्ने छ । 

चितवन, नवलपरासी गरेर दुवैतर्फ २३ अर्ब रुपियाँको तटबन्ध गर्न डिपिआर भएको थियो । त्यसमध्ये पहिलो चरणमा चितवन र नवलपरासी गरेर ११ वटा प्याकेजको ठेक्का लागेको कार्यालयले जानकारी दिएको छ । त्यसका लागि चार अर्ब ७२ करोड रुपियाँको ठेक्का सम्झौता भएको हो । ठेक्काका लागि स्रोत सहमति भए अनुसार दुई वटा ठेक्काको काम सम्पन्न भएको छ भने दुई वटा सम्पन्नको तयारीमा रहेको नारायणी नदी व्यवस्थापन कार्यालयका सूचना अधिकारी शेखरनाथ न्यौपानेले जानकारी दिनुभयो । 

सम्पन्न भएका ठेक्कामा नारायणी नदी उत्तरतर्फको ‘रिभर बिच’ क्षेत्र र नवलपरासीको मध्यविन्दु क्षेत्रमा रहेको छोटो तटबन्ध रहेको छ । अन्य नौ वटा ठेक्काको काम भइराखेको छ । जसमध्ये चितवनतर्फ चार वटा र नवलपरासीतर्फ पाँच वटा ठेक्काको काम भइराखेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । 

चितवनको गाजीपुरदेखि हिरापुरसम्म पाँच किलोमिटर लम्बाइको यो तटबन्धको काम ९५ प्रतिशत सम्पन्न भएको छ । यसका लागि ४८ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । अहिले यहाँ घाँस रोप्ने र अन्य सामान्य व्यवस्थापनको काम भइरहेको छ । यहाँबाट नारायणी नदी ग्रामिण बस्तीमा पस्ने डर थियो । तटबन्धपछि अब गाउँ पूर्ण सुरक्षित भएको कार्यालयले जानकारी दिएको छ ।  

त्यस्तै गरी बालुवादेखि गोलाघाट नारायणी र राप्ती नदीको सङ्गमस्थल क्षेत्रमा साढे २ किलोमिटर तटबन्धको काम अन्तिम चरणमा छ । सामान्य सुरक्षाको कामबाहेक सबै सम्पन्न भएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । बर्सात अगाडि नै सकिने गरी अन्तिम चरणमा साना काम मात्र बाँकी छ । यो तटबन्ध निर्माणका लागि २६ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । पूर्वबाट आउने राप्ती र उत्तरबाट आउने नारायणी नदीको सङ्गम स्थल भएकाले यस क्षेत्र कटानको ज्यादै जोखिम स्थलका रूपमा थियो ।