• २० असार २०८१, बिहिबार

रोपाइँमा गाइन छाडे असारे भाका

blog

तानसेन समाचारदाता

तानसेन, असार १८ गते । राष्ट्रिय दिवसका रूपमा असार १५ मा धान दिवस मनाउन थालिए पनि धानफाँटबाट असारे भाका लोप भइसकेको अवस्था छ । असारे भाकालाई श्रम र पसिनाको गीतका रूपमा किसानबिच चिनिन्छ । 

असार मासको दबदबे हिलो छुनलाई घिन लाग्यो

पातली मोरीलाई फरिया किन्दा नौबिस ऋण लाग्यो

फाँटबाट गोरु, हली र बाउसे हराए । रोपाहारबिनाको रोपाइँमा कृषि प्रविधिसँगै जोत्ने मेसिन भित्रिए । धान रोप्ने मेसिन भित्रिँदै छ । सँगसँगै असारे भाका हराउँदै गएको छ । पछिल्लो समय रोपाइँको अधिकांश काम प्रविधिले गरेको छ । ट्याक्टर, रोलाभेटर, धान रोप्ने मेसिनको प्रयोगले पनि रोपाइँमा मानिसको प्रयोग घट्दै गएको छ । मानिसको प्रयोग घटेपछि असारे गीतका भाकासमेत लोप हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन् । असारे गीतको भाकाको तालमा छुपुछुपु हिलोमा धान रोप्ने रोपाहार हुन्थे । धान रोप्न आएका रोपाहार असारे भाकासँगै रमाइलो मान्दै मेलो सार्थे तर पछिल्लो समय यस्ता गीतबिनै रोपाइँ हुने गरेको छ । असार लाग्नासाथ पाल्पाका विभिन्न फाँटका खेतमा कतै बाजासँगै रोपाइँ हुन्थ्यो । कतै ‘हाइमाया’ का भाकासँगै असारे गीत गाइन्थ्यो । असारे गीतमा दुःखसुखका भाव, मायापिरतीका कहानी, रमाइला टुक्का समावेश हुन्थ्यो । जसले गर्दा रोपाइँ गर्ने लामो मेलो भए पनि रोपाहार, बाउसे, हलीले रमाइलो मानेर काममा व्यस्त हुन्थे । 

माडीफाँटस्थित बुढीकोटका स्थानीय शिवप्रसाद घिमिरेले पछिल्लो समय यस्ता गीत र भाका हराउँदै गएको बताउनुभयो । उहाँका अनुसार असारे गीत गाउँदा रोपाइँमा काम गर्ने कामदार खुसी भएर काम गर्थे । रमाइला गीत गाउँदै गर्दा काम गरेर दिन बितेको थाहै हुँदैनथ्यो । असार र साउनमा हुने रोपाइँमा पन्चैबाजाको समेत प्रयोग गर्ने प्रचलन थियो । सक्नेले पन्चैबाजा र हिलोमा नाच्ने मान्छेसमेत व्यवस्था गर्थे । त्यस्ता गीत र भाकाले फाँट गुञ्जायमान हुन्थ्यो । अहिले रोपाइँ सुनसान हुन्छ । पछिल्लो पुस्ताले असारे भाका, त्यस्ता गीतका टुक्का गाउन बिर्सिंदै गएका छन् । माथागढी–३ का इन्द्रबहादुर चिदीले पुराना पुस्ताले पनि यस्ता गीत नयाँ पुस्तालाई सिकाउन छाडेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले माडीफाँटमा धान रोप्दा जताततै ‘हाइमाया’ भाकाका गीत सुनिन्थ्यो, अहिले गाउने मानिस नै छैनन् ।”