• १९ असार २०८१, बुधबार

संरक्षणको पर्खाइमा अजिरकोटको हात्ती सुडे गुफा

blog

गोरखाको पर्यटकीय गन्तव्यको रूपमा रहेको अजिरकोट गाउँपालिका – ५ साउने गाउँमा रहेको हात्ती सुडे गुफा । तस्बिर : गुणबहादुर रोका

गुणबहादुर रोका
सुलीकोट, असार १७ गते ।
 जिल्लाका पर्यटकीय स्थलहरूको सरोकारवालाले ध्यान दिन नसक्दा पर्यटकीय गन्तव्य ओझेलमा परेका छन् । गोरखाको पर्यटकीय गन्तव्यको रूपमा रहेको अजिरकोट गाउँपालिका–५ साउने गाउँमा रहेको हात्ती सुडे गुफा धार्मिक, ऐतिहासिक र पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण भए पनि सरोकारवाला पक्षहरूले संरक्षण र प्रचारप्रसार नगर्दा ओझेलमा परेको हो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण अजिरकोट धार्मिक, ऐतिहासिक महत्त्व बोकेका धार्मिक गन्तव्य स्थल सुधार नहुँदा यहाँको गुफाले महत्त्व पाउन सकेको छैन । अजिरकोट गाउँपालिका–५ मुच्चोकमा बाबुराम देवकोटा र शैलेन्द्र गुरुङले २०६० साल कात्तिकमा लक्ष्मीपूजाका दिन पत्ता लगाएका स्थानीय राजेन्द्र देवकोटाले बताउनुभयो ।

अहिलेसम्म देखिएका गुफाहरू मध्ये फरक प्रकृतिको चित्राकृति रहेको उक्त गुफामा दुई तला रहेको छ । बाहिरबाट गुफा प्रवेश गरेपछि तल्लो तलाबाट चढेर माथिबाटै निस्कने मिल्ने छुट्टै विशेषता भएको गुफा फेला परेको स्थानीय राजेन्द्र देवकोटाको भनाइ छ । गुफा फेला परेको आज २१ वर्षसम्म पनि गुफाको प्रचार हुन नसकेको हो ।

देशमा ३ तहका सरकार भएता पनि कुनै पहल नभएपछि स्थानीय सरकारले त्यसको प्रवर्द्धनका  लागि पहिलो पटक त्यस ठाउँमा ११५ औँ कार्यपालिका बैठक त्यही हात्तीसुडे गुफामा बसेको गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अजिरकोटमा भएका पर्यटकीय स्थलहरूलाई पहिचान गर्दै त्यसको संरक्षणमा गाउँपालिका सुधार गर्न लागि परेकाले गाउँपालिकाका सबै कार्यपालिका सदस्यहरूलाई गुफाको बारेमा जानकारी दिन अध्ययन अवलोकन माध्यमबाट गुफाको व्यापक प्रचार प्रसार गर्नका लागि कार्यपालिकाको बैठक हात्तीसुडे गुफामा बसेको उहाँले बताउनुभयो ।

गुफाको पर्याप्त प्रचारप्रसार गर्न सके अजिरकोटमा आन्तरिक तथा बाह्रय पर्यटक भित्र्याउने सकिने गाउँपालिकाले जनाएको छ । अजिरकोट गाउँपालिकाले हात्ती सुडे गुफालाई स्थानीय पाठ्यक्रममा समेत समेटेको छ ।

पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको उक्त गुफा संरक्षण र संवर्द्धनका लागि गाउँपालिकाले बजेट विनियोजन गरी हात्ती सुडे गुफामा जाने भौतिक संरचनाको तयार पारी आन्तरिक तथा बाह्रय पर्यटकलाई सहज यात्राका लागि पूर्वाधार निर्माणका लागि गाउँपालिका लागि परेको अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिनुभयो ।