• १९ असार २०८१, बुधबार

अस्पतालको सुधार गर्नु मेरो मुख्य लक्ष्य : मन्त्री यादव

blog

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव

काठमाडौँ, असार १७ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले अस्पतालहरूको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालय रातदिन काम गरिरहेको बताउनुभयो ।

मन्त्री यादवले राजनीति अस्थिर रहेकाले सबै ठुलो काम गर्छु भनेर प्रतिबद्धता जनाउन नसकिने बताउनुभयो । उहाँले अहिले भएका संरचनालाई अझ व्यवस्थित गर्नका लागि आफू लागिपरेको जिकिर गर्नुभयो । उहाँले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा काम भइरहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य क्षेत्रमा जनशक्ति कम रहेको भन्दै करारमा लिएर भए पनि काम गराउने प्रतिबद्धता जनाउनुभयो । उहाँले मन्त्रालय मातहतमा रहेका अस्पतालको सुधारका लागि विभिन्न कार्यक्रमसहित अघि बढेको बताउनुभयो । उहाँले बिमामा धेरै महाभारत चलिरहेको बताउनुभयो । उहाँले स्वास्थ्य बिमा स्वास्थ्य मन्त्रालयअन्तर्गत नरहेको भन्दै राज्यले बिमालाई स्वायत्त गरिदिएको बताउनुभयो । आफू अग्रसर भएर बिमा बोर्डका अध्यक्षसँग कुरा गरेको र छलफल गरेर बिमामा भएका बेथितिको सुधार गर्ने बताउनुभयो । सबै नागरिकलाई बिमामा समेट्न आफूहरू लाग्ने बताउनुभयो ।

मन्त्री यादवले भन्नुभयो, ‘‘अस्पतालहरूको सुधार नै मेरो मुख्य लक्ष्य हो । सुधार कसरी गर्ने त्यसमै म आएदेखि नै लागिपरेको छु । सुधार गर्नको निमित्त अघि बढेका छौँ । राजनीति स्थिर छैन, अस्थिरता छ । जहाँ अस्थिरता हुन्छ, त्यहाँ ठुलो ठुलो क्रान्तिकारी कुरा गरेर सम्भव पनि हुँदैन । त्यसकारण जुन हाम्रो अवस्था छ, त्यसलाई कसरी सुधार गर्ने, त्यसमा हामीले अघि बढेर काम गरिरहेका छौँ । सबै कुरा बुझेका छैनौँ तर अधिकतम कुरा बुझेर काम गरिरहेका छौँ । अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवहरूको नेतृत्वमा हामीले विभिन्न शीर्षकमा खटाएका छौँ । जुन एउटा रिपोर्ट आइसक्यो ।’’

मन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताउनुभयो ।