• १९ असार २०८१, बुधबार

गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती : १५१ थान ऐतिहासिक तस्बिर प्रदर्शन हुने

blog

नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा ऐतिहासिक तस्बिर प्रदर्शनीबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलन ।

काठमाडौँ, असार १७ गते । नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा एक सय ५१ थान ऐतिहासिक तस्बिर प्रदर्शनी हुँदैछ ।

सोमबार ललितपुरस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले तस्बिर प्रदर्शनीमा प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका शीर्ष एवम् विशिष्ट व्यक्तिहरू सहभागी हुने जानकारी दिनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाको विशेष तस्बिर अनावरण एवम् पानसमा बत्ती बालेर मङ्गलबार बिहान ११ बजे तस्बिर प्रदर्शनीको उद्घाटन गर्नुहुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “शान्ति प्रक्रियाका महानायक शिखर पुरुष, पार्टी पूर्व सभापति, नेपाली जनताका सधैँ प्रिय व्यक्ति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्ती असार १८ गते मङ्गलबार भव्य र सभ्य ढङ्गले सम्पन्न हुनेछ । सार्वजनिक आमन्त्रणमा देख्न, हेर्न र सहभागी हुने क्रम बिहान ११ बजे प्रारम्भ हुन्छ । एक सय ५१ थान विशिष्ट ऐतिहासिक महत्त्वका जो गिरिजाबाबुको जीवनी, राजनीतिक क्रान्ति, शान्ति प्रक्रिया र समृद्धिसँग जोडिएका तस्बिरहरू प्रदर्शनीमा राख्नेछौँ ।”

उहाँले तस्बिर अवलोकन पश्चात् ‘क्रान्तिदेखि शान्तिसम्म’ को शीर्षकमा विमर्श सभा हुने जानकारी दिनुभयो । सो शीर्षकमा सहजकर्ताका रूपमा डा. गेजा शर्मा वाग्ले हुनुहुन्छ भने वक्ताहरू पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्व उपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौला, पूर्व परराष्ट्र मन्त्री एवम् नेकपा (एमाले) नेता प्रदीप ज्ञवाली रहनुहुने भएको छ ।

यसै गरी, उहाँले ‘समुन्नतिको दोस्रो जग’ र ‘फोटो पत्रकारिता : जोखिम र अनुभव’ शीर्षकमा विमर्श हुने जानकारी दिनुभयो ।